शनि, साउन १६, २०८३

मलखाद–बीउबिजन आपूर्तिमा निजी क्षेत्रको भूमिका बढाउन व्यवसायीहरूको माग


कञ्चनपुर,कैलालीका व्यवसायीहरूले कञ्चनपुर –३ का प्रतिनिधिसभा सदस्य माननीय ज्ञानेन्द्र सिंह महताको सचिवालयमा पुगेर मलखाद तथा बीउबिजनको बिक्री वितरणसँग सम्बन्धित हाल देखिएका समस्या तथा व्यावहारिक कठिनाइबारे जानकारी गराएका छन्।

व्यवसायीहरूले किसानलाई समयमै गुणस्तरीय मलखाद र बीउबिजन उपलब्ध गराउन निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै हालको अनुमति तथा वितरण प्रणालीका कारण आपूर्ति व्यवस्थापनमा समस्या उत्पन्न भएको बताएका छन्।

उनीहरूले निजी क्षेत्रलाई स्पष्ट कानुनी व्यवस्था, मापदण्ड र प्रभावकारी अनुगमनको दायराभित्र रही मलखाद तथा बीउबिजन बिक्री वितरण गर्न अनुमति दिनुपर्ने माग गरेका छन्।भेटघाटका क्रममा सांसद महताले किसानको हित, गुणस्तरीय कृषि सामग्रीको सहज उपलब्धता तथा आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउने विषय सरकारको प्राथमिकतामा रहनुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले व्यवसायीहरूले उठाएका सुझाव र समस्यालाई सम्बन्धित निकायसमक्ष समन्वय र सहजीकरणका लागि पहल गरिने बताउनुभयो।कृषि उत्पादन वृद्धि, किसानको उत्पादन लागत न्यूनीकरण तथा कृषि क्षेत्रमा देखिने मौसमी अभाव अन्त्य गर्न सरकारी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको विषयमा समेत छलफल भएको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार