मङ्ल, साउन १२, २०८३

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा


काठमाडौं– सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत सुरक्षा कमान्ड सम्हालेका एसपी हलचोकमा थिए । गृहमन्त्री सुधन गुरुङकै निर्देशनमा एउटा बेनामे उजुरीलाई आधार बनाएर एसपी श्याम कार्कीलाई हलचोक तानिएपछि अर्कालाई पठाइएन ।

गृहमन्त्री गुरुङ असार अन्तिम साता झापा पुग्दा त्यहाँस्थित केहि सशस्त्र प्रहरीका अधिकारीहरूको मोबाइल फोन नै खोस्न भ्याए । गत असार ३० पूर्वी नेपाल गएका सुधनले त्यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण भद्रपुरका प्रमुख एवम् एसपी अम्बिका प्रसाद जोशीलाई हेडक्वाटर तानिदिए। त्यसरी तान्नुको कारण थियो तस्करी नियन्त्रण गर्न असफल भएको ।

जोशीलाई छानबिनका नाममा हेडक्वाटर तानिएपछि उनको स्थानमा अझैसम्म हलचोकले अर्को एसपी पठाएको छैन । सशस्त्रको यही गणले काँकडभिट्टा भन्सारदेखि झापाको सबै सीमा सुरक्षाको बन्दोबस्त गर्छ।झापमा अर्को पनि सशस्त्र प्रहरीको गण छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गण झापाको कमल गाउँपालिका–५, पाडाजुंगी (दमक नजिक) राखिएको छ। तर यो गण कोशी प्रदेश अन्तर्गत सशस्त्र प्रहरीको बाहिनी मुख्यालयको निर्देशनमा परिचालन हुन्छ ।

यसले सीमा सुरक्षाभन्दा विभिन्न आपत्कालीन तथा सुरक्षा कार्यहरूमा रिजर्भ बलको रूपमा काम गर्छ।सुनसरीका एसपी कार्कीसँगै तानिएका जोशीमाथि अझै छानबिन सकिएको छैन । यो अवस्थामा सीमा सुरक्षा जस्तो संवेदनशील जिम्मेवारी पाएको दुई नम्बर गणमा अहिले निमित्तका रुपमा डीएसपीले काम चलाइरहेका छन् ।

गत असार अन्तिममा सुधन पूर्वीनेपाल गएपछि मुख्यालय तानिएकामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ हेडक्वार्टर झापाका प्रमुख एसपी अम्बिकाप्रसाद जोशी, नम्बर ४ हेडक्वार्टर सुनसरीका प्रमुख एसपी श्यामकुमार कार्की, प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरका डीएसपी शम्शेर कार्की, नम्बर १ हेडक्वार्टर इलामका डीएसपी लोकनाथ उप्रेती र सुनसरीको बीओपी लौकहीका इन्स्पेक्टर नरेन्द्र चन्द थिए ।उनीहरूमाथि घुमुवा परिचालन गरी नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न वस्तु तथा लागुऔषधको तस्करीमा सहजीकरण गरेको र त्यसबापत रकम असुलेको आरोप थियो ।

तर उनीहरूमाथि छानबिनकै नाममा सुधनले आइतबारसम्म सुनसरीको ४ नम्बर गणमा पनि नयाँ एसपी जान दिएनन् । जब आइतबार राति देवानगञ्जको कप्तानगञ्जमा एकजनाको ज्यान जानेगरी गम्भीर घटना भयो तब हतार हतार हलचोकले उनै कार्कीलाई जान भन्दै रमाना थमाइदियो ।तर अचम्म चाहिँ त्यतिखेर भयो जतिखेर रमाना थमाइएका कार्कीलाई फेरि हलचोक नै तानियो । इनरूवा हिँडेका कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई पठाउने निर्णय भयो ।

उता सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइयो। उता उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौँमा कार्यरत डीएसपी मदन नाथलाई पठायो ।सुनसरीमा प्रजिअदेखि दुवै प्रहरीका एसपी फेरिँदासम्म उता झापामा भने नयाँ कमान्डर या पुरानैलाई फिर्ता नपठाएर हलचोक र गृहमन्त्रालय अर्को दुर्घटनाको प्रतिक्षा गरिरहेका छन्।

सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे कार्यकाल सकिएर सुरक्षा निकाय नेतृत्वविहीनजस्तै बनेको छ। जिल्ला तथा प्रदेश तहमा बलियो कमान्डर नभएको संवेदनशील समयमा सुनसरीको देवानगञ्जमा दुई समुदायबीच हिंसात्मक झडप भएको थियो ।सुरक्षा निकायमा माथिल्लो तहको सरुवा र नेतृत्व व्यवस्थापनमा भएको ढिलाइको प्रत्यक्ष असर फिल्डको शान्ति-सुरक्षा कमान्डमा परिरहेको छ। जसले सशस्त्र प्रहरीको मनोबलमा पनि असर गर्दैछ ।सुनसरी र झापा दुवै भारतसँग जोडिएका संवेदनशील सीमाक्षेत्र भएको जिल्ला हुन् ।

त्यहाँ भन्सार नाका मात्रै छैनन्, तस्करीका अनेक रुट पनि छन् ।स्रोतका अनुसार सशस्त्र प्रहरी मुख्यालयमा गणपतिको कार्यसम्पादन र सरुवालाई लिएर गृहमन्त्री सुधन गुरुङ र महानिरीक्षक नारायणदत्त पौडेलबीच मतभेद कायम रहँदा सीमा र संवेदनशील क्षेत्रका गण नेतृत्वविहीन वा अन्योलको स्थितिमा छन्।

जसको परिणाम आइतबार राति देवानगञ्जमा भीड नियन्त्रणका न्यूनतम उपाय अवलम्बन नगरी सीधै घातक बल प्रयोग हुन पुगेको स्थानीय र राजनीतिक दलका प्रतिनिधिले आरोप लगाएका छन्।घटनापछि मात्रै कोशी प्रदेश प्रहरी गण र जिल्लाका विभिन्न वृत्तबाट ३७६ जना अतिरिक्त सुरक्षाकर्मी परिचालन गरी देवानगञ्ज र हरिनगरका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो।

तर, सुरक्षा निकायको माथिल्लो नेतृत्व र कमान्ड शृङ्खलामा देखिएको सुस्तताका कारण एउटा सामान्य विवादले साम्प्रदायिक हिंसाको रूप लिएको भन्दै सुरक्षा संयन्त्रको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ।सशस्त्र प्रहरी नियमावली अनुसार एसपी (गणपति) हरूको सरुवा गर्ने अधिकार महानिरीक्षकलाई भए पनि गृहमन्त्री र संगठन प्रमुखबीचको समन्वय अभावका कारण असार मसान्तमा कार्यकाल सकिएका ८ वटा गणका गणपतिको सरुवा रोकिएको छ।

यही प्रशासनिक ढिलासुस्ती र कार्यस्थलमा स्पष्ट कमान्डर नभएको मौकामा आइतबार राति सुनसरीको कप्तानगञ्जमा बोलबमको डिजे विवादको परिणाम अहिले देश नै तनावमा छ ।सुनसरीमा स्थानीय स्तरमा स्थिति सम्हाल्ने अनुभवी र आधिकारिक कमान्डरको उपस्थिति नहुँदा सुरुमा प्रहरी चौकीबाट खटिएको सानो टोलीले परिस्थिति नियन्त्रणमा लिन सकेन।

त्यसपछि दुवै पक्षबाट चिर्पट, ढुंगा, लाठी र भाला बोकेर मानिस सडकमा उत्रिँदा स्थिति नियन्त्रणा बाहिर पुगेको थियो।मैदानमा खटिएका सुरक्षाकर्मीबीच पूर्वतयारी र समन्वय अभाव देखिँदा झडपमा इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राईसहित ८ नेपाल प्रहरी र ५ सशस्त्र प्रहरी घाइते भए।

टाउकोमा ५ टाँका लागेका प्रहरी निरीक्षक राईको पेस्तोलबाट ३ राउन्ड हवाई फायर भए पनि स्थिति साम्य हुन सकेन। लगत्तै स्पष्ट माथिल्लो आदेश र परिपक्व कमान्डबिनै सशस्त्र प्रहरीको टोलीले चलाएको गोली लागेर देवानगञ्ज–४ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो।

सम्बन्धित समाचार