काठमाडौं,मुग्लिङ-नारायणगढ सडक खण्डअन्तर्गत चितवनको मुग्लिङ बजार नजिकै सुक्खा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ बजारको सार्वजनिक शौचालय नजिकै आज बिहान करिब ८:३० बजे सडक माथिबाट सुक्खा पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
पहिरोसँगै खसेको ढुंगा र माटोका कारण सडक दुवै तर्फबाट ठप्प भएको छ । सुक्खा पहिरोका कारण सवारी साधनको लामो लाइन लागेको छ । प्रहरी र सडक विभागको टोली घटनास्थलमा पुगिसकेको छ ।
सडकमा खसेको पहिरो हटाई बाटो खुलाउन सडक विभागसँग आवश्यक समन्वय भइरहेको छ । पहिरो पन्छाउने काम सुरु भइसकेको र अवस्था सामान्य रहेमा करिब २ घण्टाभित्र बाटो पुनः सुचारु हुन सक्ने अनुमान गरिएको छ ।

