मङ्ल, साउन १२, २०८३

निर्मला हत्याकाण्डका आठ वर्ष : पत्ता लागेन हत्यारा


पाँच प्रधानमन्त्री, सात गृहमन्त्री, आठ आइजिपी, १२ डिआइजी, ११ सिडियो, ११ एसपी, चार मुख्यमन्त्री परिवर्तन भए, तर उपलब्धि शून्य

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आठ वर्ष पूरा भएको छ । भीमदत्त नगरपालिका– २ उल्टाखामकी पन्तको हत्या कसले गरेको हो भन्ने अझै पत्ता लागेको छैन ।

१० साउन ०७५ मा घरबाट साथी रोशनी बमको घरमा होमवर्क गर्छु भन्दै हिँडेकी निर्मलाको भोलिपल्ट ११ साउनमा उखुबारीमा शव फेला परेको थियो ।निर्मलाको हत्या भएको दुई हजार ९२० दिन पूरा हुँदासमेत प्रहरी वास्तविक बलात्कारी र हत्यारा पत्ता लगाउन असफल भएको छ । देशमा तीनै तहमा नयाँ जनप्रतिनिधि आए, प्रदेश र संघमा सरकार फेरिएकाफेरियै छन् ।

तर, न्यायको पर्खाइमा रहेको निर्मलाको परिवारमा निराशाबाहेक केही हात लागेको छैन ।यसबिचमा देशमा पाँच प्रधानमन्त्री, सात गृहमन्त्री, आठ आइजिपी, १२ डिआइजी, ११ सिडियो, ११ एसपी, चार मुख्यमन्त्री परिवर्तन भए पनि मुख्य अभियुक्तको सुइँको पाउन नसक्नुलाई प्रहरीको चरम असफलता मानिएको छ ।

निर्मलाको हत्यापछि केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, सुशीला कार्की, बालेन्द्र शाह बालेन प्रधानमन्त्री बने । घटना हुँदा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्ट, थिए, त्यसपछि क्रमशः राजेन्द्रसिंह रावल, दीर्घ सोडारी, हाल कमलबहादुर शाह छन् । भीमदत्त नगरप्रमुख सुरेन्द्र विष्ट, हाल निर्मलाकै वडाका पदम बोगटी पालिका प्रमुख छन्, निर्मलाकै गृह वडामा हाल उत्तम भट्ट वडाध्यक्ष छन्, तर उनको परिवारले न्याय पाएको छैन ।

हाल एसएसपी कृष्ण पंगेनी नेतृत्वमा छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाइएको छ । निर्मलाको हत्यापछि भीमदत्त नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकारले क्रमशः ३, ५ र १० लाख रुपैयाँ पन्त परिवारलाई राहत दिएको थियो । घटनाको अनुसन्धानका लागि हालसम्म झन्डै ३३ लाखभन्दा बढी खर्च भएको अधिकारीले बताएका छन् ।

६ समिति गठन हुँदासमेत उपलब्धि शून्य छ ।कञ्चनपुरकी महिला अधिकारकर्मी शारदा चन्दले आठ वर्षसम्म पनि निर्मलाका हत्यारा पक्राउ नपर्नु दुःखद भएको बताइन् । उनले जिल्लाकै गृहमन्त्री हुँदा पनि न्याय नपाएकी निर्मलाले अब बाह्य जिल्लाका गृहमन्त्रीबाट आशा गर्न नसकिने दुःखेसो पोखिन् ।

अधिकारकर्मी माया नेगीले निर्मलाले न्याय पाउनुपर्ने बताइन् ।कञ्चनपुरकी महिला अगुवा भुवन कुँवरले निर्मलाको बलात्कारपछि हत्या भएको आठ वर्ष पूरा हुँदासम्म बलात्कारी पत्ता नलाग्नुमा सरकारको कमजोरी भएको बताइन् । निर्मलालाई न्याय दिनलाउनसमेत गृहमन्त्रीले गम्भीर हुनुपर्ने उनको सुझाव छ ।निर्मलाको न्यायका लागि भन्दै आन्दोलनमा होमिएका घाइते सुरेन्द्र देउवाले आफूले अहिलेसम्म राहत नपाएको दुःखेसो पोखे ।

‘निर्मलाको न्यायका लागि आन्दोलनमा होमिएँ, म पनि त्यही आन्दोलनको घाइते हुँ, तर सरकारले मलाई हेरेन, यसबिचमा थुप्रै गृहमन्त्री फेरिए, अहिलेको सरकारले न्याय गर्छ कि भन्ने आश छ,’ उनले भने । नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीले आठ वर्ष बितिसक्दा पनि निर्मलाका हत्यारा सार्वजनिक नहुनु दुःखद भएको बताइन् ।

उनले गृहनगरकै गृहमन्त्री रमेश लेखक हुँदा पनि न्याय नपाएको बताउँदै अरूबाट आशा मरेको बताइन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला हत्याकाण्डको अनुसन्धान निरन्तर जारी रहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर रावतले हत्याकाण्डको अनुसन्धान निरन्तर भइरहेको बताए । उनका अनुसार हालसम्म ६५६ बढी व्यक्तिमाथि अनुसन्धान भएको छ ।

‘५९ जनासँग कागज गराएर अनुसन्धान गरेका छौँ,’ उनले भने, ‘केहीमाथि अहिले अनुसन्धान जारी छ ।’ १६४ जनाको डिएनए परीक्षण गरेरै अनुसन्धान गरिएको उनले बताए ।

निर्मलाकी आमा दुर्गादेवी पन्त भन्छिन्–अब त न्यायको आसै मरिसक्यो

उति वेला घरमा अधिकारकर्मी, नेता, प्रहरी, पत्रकार लस्करका लस्कर आउँथे, हिजोआज कोही आउँदैनन्, केही सोध्दा पनि सोध्दैनन् । मैले त न्याय पाउने आसै मारिसकेकी छु । तत्कालीन गृहमन्त्री रमेश लेखकले चाहेको भए छोरीका हत्यारा पत्ता लगाइसक्थे, तर उनले गरेनन् । सत्ताबाहिर हुँदा न्यायका कुरा सत्तामा जाँदा सबै उस्तै रहेछन्, अब त आसै मरिसक्यो ।

सम्बन्धित समाचार