मङ्ल, साउन १२, २०८३

यातायात व्यवस्था कार्यालय महेन्द्रनगर राजस्व वृद्धि गर्दै


यातायात व्यवस्था कार्यालय महेन्द्रनगर कञ्चनपुरले राजस्व वृद्धि गर्दै आएको छ। पछिल्ला तीन वर्षको तुलनामा यातायात व्यवस्था कार्यालय महेन्द्रनगर कञ्चनपुरले राजस्व वृद्धि गर्दै आएको हो ।

यातायात व्यवस्था कार्यालय महेन्द्रनगरको तथ्यांकअनुसार पछिल्ला तीन वर्षयता गत आर्थिक वर्षमा उल्लेख्य राजस्व वृद्धि गरेको छ। यातायात व्यवस्था कार्यालय महेन्द्रनगर कञ्चनपुरका लेखा अधिकृत गजेन्द्रप्रसाद जोशीले सवारीसाधन, चालक अनुमतिपत्र, सवारी दर्ता, रजिस्ट्रेसन, यातायात क्षेत्रसहितका विविध शीर्षकमा कर राजस्व संकलन गरेको बताए ।

लेखा अधिकृत जोशीले गत आर्थिक वर्ष ०८२/८३मा पछिल्ला दुई वर्षभन्दा राम्रो राजस्व संकलन भएको बताए । लेखा अधिकृत जोशीका अनुसार पछिल्ला दुई वर्षमा झन्डै चार करोड बढी राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष ०८२/८३ मा २४ करोड ६८ लाख ९२ हजार आर्थिक वर्ष ०८१/८२ २३ करोड ६३ लाख ६७ हजार र आर्थिक वर्ष ०८०/८१ मा २० करोड ७७ लाख पाँच हजार रुपैया संकलन भएको छ। संघतर्फ सार्वजनिक सवारीसाधन अग्रिम कर पनि क्रमशः वृद्धि हुँदै आएको छ ।

आर्थिक वर्ष ०८०/८१ मा ९८लाख आठ हजार, ०८१/८२ मा एक करोड, ३८लाख ६४ हजार र गत आर्थिक वर्ष ०८२/८३ मा एक करोड, २७ लाख, ३७ हजार राजस्व संकलन भएको छ ।विगतमा पहुँचवालाका लागि मालामाल, गैरकानुनी सवारीसाधन दर्तादेखि घुसकाण्ड मच्चिएर प्रहरी, अख्तियारसम्मै खैलाबैला मच्चिएको उक्त कार्यालय सेवाग्राहीको विश्वास मात्रै होइन राज्यको चोखो आम्दानीमा समेत भूमिका निर्वाह गरेको तथ्य तथ्यांकले देखाएको छ।

यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका प्रमुख कुमार परियारले विभिन्न कारणबाट पछिल्ला वर्षहरूमा राजस्व वृद्धि भइरहेको बताए ।उनका अनुसार कार्यालयको निरन्तर ताकेता, सक्रियता, सवारीचालक अनुमतीपत्र वितरणमा सक्रियता, सवारीसाधन दर्ता, चालक अनुमतिपत्र लिनेको संख्या वृद्धि र लामो समयदेखि नवीकरण नगरेका पाँच वर्ष कटेका सवारीसाधनमाथि जरिवाना शतप्रतिशत छुटले पनि राजस्व वृद्धि हुने गएको छ ।

अटो पालिका तहमै दर्ता गर्ने प्रावधानले केही राजस्वमा कमी आए पनि अन्य क्षेत्रबाट निरन्तर राजस्व संकलन भइरहेको छ । सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमातहत रहेको यातायात व्यवस्था कार्यालयले पछिल्ला दिनहरूमा गत विगतका वर्षहरूभन्दा प्रभावकारी सेवा प्रवाह गरिरहेको सेवाग्राहीहरूले समेत अनुभूति व्यक्त गरिरहेका छन् ।

सम्बन्धित समाचार