महेन्द्रनगर, साउन ७ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४, मदनचोकमा एनसेल आजियाटा लिमिटेडको ‘फ्रेन्चाइज्ड ओन्ड एन्ड फ्रेन्चाइज्ड अपरेटेड (फोफो)’ अवधारणामा आधारित एनसेल सेन्टर बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ।सेन्टरको उद्घाटन भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, ग्राहक सेवा तथा ब्यवस्थापन निर्देशक ज्योति दाहाल तथा कर्पोरेट सञ्चार, ब्रान्ड, बजार प्रवर्द्धन तथा दिगोपना निर्देशक विशाखा लक्ष्मी खड्काले संयुक्त रूपमा गर्नुभयो।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख बोगटीले नेपालको दूरसञ्चार क्षेत्रको विकासमा एनसेलले उल्लेखनीय योगदान पुर्याएको बताउनुभयो। आधुनिक सञ्चार सेवाको विस्तार र नागरिकलाई सहज पहुँच उपलब्ध गराउन कम्पनीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि गुणस्तरीय सेवा प्रदान गर्न शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा कस्टमर सर्भिस अपरेसन डाइरेक्टर अर्थात ग्राहक सेवा तथा ब्यवस्थापन निर्देशकज्योति दाहालले महेन्द्रनगरमा फोफो सेन्टर सञ्चालनमा आउनुले सुदूरपश्चिममा एनसेलको सेवा पहुँच थप विस्तार हुने, स्थानीय साझेदारसँगको सम्बन्ध अझ सुदृढ बन्ने तथा ग्राहक अनुभवलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। कञ्चनपुरका ग्राहकलाई उत्कृष्ट सेवा दिन पाउँदा कम्पनी उत्साहित रहेको उहाँको भनाइ थियो।
त्यसैगरी कर्पोरेट कम्युनिकेसन, ब्रान्ड, मार्केटिङ एन्ड सस्टेनेबिलिटी डाइरेक्टर अर्थात कर्पोरेट सञ्चार, ब्रान्ड, बजार प्रवर्द्धन तथा दिगोपना निर्देशक विशाखा लक्ष्मी खड्काले नयाँ अवधारणाअन्तर्गत सञ्चालनमा आएको सेन्टरले ग्राहकलाई थप सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गर्ने बताउनुभयो।
स्थानीय व्यवसायीसँगको सहकार्यमार्फत ग्राहकलाई नजिकबाट सेवा दिने उद्देश्यले फोफो अवधारणा अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो।सुदूरपश्चिमका फोफो साझेदार दिपेन्द्र बिष्टले जेनजी आन्दोलनका क्रममा एनसेल सेन्टरमा भएको तोडफोडप्रति दुःख व्यक्त गर्दै निजी कम्पनीको सम्पत्ति पनि राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको सम्पत्ति भएकाले यसको सुरक्षा र संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो।
कम्पनीका अनुसार ग्राहकलाई सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको यस सेन्टरबाट सिम कार्ड परिवर्तन, ई–सिम सक्रियकरण, केवाईसी अद्यावधिक, बिल भुक्तानी लगायत सम्पूर्ण ग्राहक सेवा एकै स्थानबाट प्राप्त गर्न सकिनेछ। साथै मोबाइल फोन तथा विभिन्न मोबाइल एक्सेसरिज पनि यहीँबाट खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
ग्राहकहरूले ‘माइ एनसेल’ एपमार्फत सञ्चालन गरेका सेवासम्बन्धी थप जानकारी वा प्राविधिक सहयोग आवश्यक परे सेन्टरबाट प्रत्यक्ष सहयोग प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यसले कम्पनी र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।एनसेलले स्थानीय व्यवसायीको सहकार्यमा सञ्चालन गरिने फोफो सेन्टरहरू भविष्यमा देशका अन्य स्थानमा समेत विस्तार गर्ने योजना रहेको जनाएको छ।
कम्पनीका अनुसार यस अवधारणाले ग्राहकलाई एकै स्थानबाट बहुआयामिक सेवा उपलब्ध गराउनुका साथै स्थानीय उद्यमशीलता प्रवर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।भीमदत्त नगरपालिका–४, मदनचोकस्थित उक्त सेन्टर जेनजी आन्दोलनका क्रममा तोडफोड भएको थियो।
आवश्यक मर्मत तथा पुनःस्थापनापछि सेन्टर बिहीबारदेखि पुनः सञ्चालनमा आएको हो।उद्घाटन कार्यक्रममा भीमदत्तनगरपालिकाका नगरप्रमुख पदम बोकटी, उपप्रमुख निलम लेखक जोशी, कंचनपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष दिपेन्द्र साउद, विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

