कञ्चनपुर, असार ३२ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेकपा एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका छन । मुख्यमन्त्री शाहले एमालेका चार मन्त्रीलाई अपमान जनकढङगबाट बर्खास्त गरेका हुन ।
प्रदेश सरकारको बजेटको विषयमा विवाद चर्किएपछि मुख्यमन्त्री शाहले एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन । एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीर बहादुर थापा(पातल) र भौतिक पूर्वाधार राज्यमन्त्री निर्मलादेवी साउदलाई बर्खास्त गरिएको मुख्यमन्त्री शाहले बताए ।
मुख्यमन्त्री शाहले कानून अनुरुप एमालेका चारैमन्त्री बर्खास्त गरिएको बताए । सुदूरपश्चिममा बजेट विवादले कांग्रेस–एमालेबिच सत्तागठबन्धन नै टुटेको छ। बजेट पुनर्लेखन हुनुपर्ने माग गर्दै आएको एमालेले प्रदेशका ६ वटै मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रदेश सभामा दर्ता गरेको छ। मन्त्री बर्खास्तीसँगै प्रदेश सरकारको बजेट पनि अलपत्र परेको छ ।
असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । तर, सत्तापक्षबिचको विवादले सदनमा बजेटमाथि दफावार छलफल नै हुन सकेको छैन। आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले गत १ असारको मध्यराति ३७ अर्ब ७० करोडको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए। एमालेका चारै मन्त्री बर्खाप्त गरे लगत्तै एमालेले पनि सरकारलाई दिएको सर्मथन फिर्ता लिएको छ ।

