काठमाडौं।दाेलखाकाे बिगु गाउँपालिका– १ बाट लप्ची पुगेका दुई नेपाली युवालाई १२ असारमा सीमाक्षेत्रबाट चिनियाँ प्रहरीले पक्राउ गर्याे । उनीहरू पक्राउ पर्नुकाे कारण थियाे ड्राेन क्यामरा उडाएको ।काठमाडौं जिल्ला टाेखा नगरपालिका धापासीका ३५ वर्षीय सुदीप थापामगर र भक्तपुर जिल्ला मध्यपुर ठिमीका ३५ वर्षीय मनाेज प्रजापतिलाई चिनियाँ क्षेत्र लप्चीबाट प्रहरीले समातेकाे थियाे ।
उनीहरू भ्लगर हुन् । मिल्ने साथी भएकोले एउटै बाइकमा दुवैजना दाेलखा पुगेका थिए । घुम्दै जाँदा उनीहरू दाेलखाकाे बिगु पुगे ।अध्यागमन कार्यालय काेदारी तातोपानीका प्रमुख पदमराज तिमल्सिनाले दिएको जानकारीअनुसार सात दिनपछि ती युवालाई चिनियाँ प्रहरीले तातोपानीकाे मितेरीपुल ल्याएर अध्यागमनकाे जिम्मा लगाएको छ ।
लप्चीबाट सिजाङ प्रान्तकाे न्यालम काउन्टी ल्याइएका उनीहरूलाई साेधपुछपछि तातोपानी ल्याएर रिहा गरिएको हाे । ती युवाले सीमामा ड्राेन क्यामरा उडाएकोले समात्नुपरेकाे चिनियाँ प्रहरीकाे भनाइ उद्धृत गर्दै तिमल्सिनाले नयाँ पत्रिकालाई जानकारी दिए । यद्यपि, रिहा भएपछि युवाद्वयले ड्राेन नउडाएकाे दाबी गरे । भाेक लागेपछि खाजाकाे खाेजीमा चिनियाँ क्षेत्र पुगेकाे बताएका छन् । चिनियाँ प्रहरीले खानतलासी गर्दा झाेलामा ड्राेन भेटिएको थियाे ।
चिनियाँ प्रहरीले ती युवालाई छाेड्ने सूचना दिएपछि अध्यागमन कार्यालय काेदारीले उनीहरूकाे आफन्तलाई जानकारी दिएका थिए । छाेरा रिहा हुने सूचना पाएपछि मनाेजका अभिभावक बिहीबार बिहानै तातोपानी पुगेका थिए । अध्यागमनकाे राेहवरमा ती युवालाई चिनियाँ प्रहरीले अभिभावककाे जिम्मा लगाएको छ ।
स्वास्थ्य परीक्षण खर्च भनेर चिनियाँ प्रहरीले दुईजनाबाट जनही एक हजार आरएमबी लिएको अध्यागमन कार्यालय काेदारीले जनाएको छ । नेपाल प्रहरीको रिपोर्टमा युवाद्वयकाे कुनै गलत नजिर भेटिएको छैन । न्यालम बस्दा चिनियाँ प्रहरीले साेधपुछ गरेकाे, तर कुनै दुःख नदिएकाे उनीहरूले बताए । उनीहरूलाई चिनियाँ प्रहरीले सिगात्से सहर पनि घुमाएका थिए ।

