राजेन्द्र बिष्ट कञ्चनपुर असार १२ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पहिलो ऐतिहासिक महाधिवेशनबाट सुदूरपश्चिमका युवा उद्यमी तथा शिक्षाविद् हेमराज भट्ट खुलातर्फ १,१३७ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। पहिलो महाधिवेशनमै देशभरका प्रतिनिधिहरूबाट उल्लेखनीय मत प्राप्त गर्दै केन्द्रीय नेतृत्वमा स्थान बनाउन सफल भएपछि उनी अहिले युवा पुस्तामाझ प्रेरणाको नयाँ प्रतीकका रूपमा चर्चामा छन्।
कुनै स्थापित राजनीतिक पृष्ठभूमि वा व्यापक प्रचार–प्रसारबिना आफ्नै संघर्ष, कर्म र योगदानका आधारमा प्रतिनिधिहरूको विश्वास जित्दै केन्द्रीय नेतृत्वमा पुग्नु भट्टका लागि मात्र होइन, सुदूरपश्चिमका युवाका लागि पनि एउटा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। उनको विजयलाई रास्वपाभित्र नयाँ पुस्ताको उदय, कर्मशील नेतृत्वप्रतिको विश्वास र परिणाममुखी राजनीतिप्रतिको आकर्षणका रूपमा विश्लेषण गर्न थालिएको छ।
कैलालीको अत्तरियामा सामान्य किसान परिवारमा जन्मिएका भट्टको जीवनयात्रा संघर्षबाट सुरु भएको हो। सानैदेखि आत्मनिर्भर बन्ने लक्ष्यसहित बिहान ३ बजे उठेर साइकलमा फलफूल बेच्ने, विभिन्न साना व्यवसाय सञ्चालन गर्दै अध्ययनलाई निरन्तरता दिने उनको मेहनतले आज शिक्षा, उद्यमशीलता र राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गरेको छ।
उच्च शिक्षा अध्ययनकै क्रममा उनले क्यारियर स्टेशन स्थापना गरे, जुन आज नेपालकै सफल शैक्षिक संस्थामध्ये एकका रूपमा परिचित छ। उनी हाल मिल्टन इन्टरनेशनल कलेजका प्रमुख कार्यकारी अधिकृत ९ऋभ्इ० हुन्। साथै विभिन्न व्यावसायिक संस्थाका व्यवसायिक परामर्शदाताका रूपमा सक्रिय रहँदै ५० भन्दा बढी युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् भने सयौँ विद्यार्थीलाई उच्च शिक्षा र करियर निर्माणमा मार्गदर्शन गर्दै आएका छन्।
रास्वपाको केन्द्रीय सदस्यमा उनको विजयले सुदूरपश्चिमको प्रतिनिधित्व मात्र बलियो बनाएको छैन, संघर्ष, उद्यमशीलता र परिणाममुखी नेतृत्वमार्फत राष्ट्रिय राजनीतिमा नयाँ पुस्ताको प्रभावशाली उपस्थितिको संकेत पनि दिएको छ। युवा पुस्ताले अवसर पाए परिवर्तनकारी नेतृत्व दिन सक्छ भन्ने विश्वासलाई भट्टको सफलताले थप बलियो बनाएको धेरैको धारणा छ।
पहिलो महाधिवेशनमै १,१३७ मतसहित केन्द्रीय नेतृत्वमा पुगेका भट्टले अब पार्टी र राष्ट्रिय राजनीतिमा शिक्षा, उद्यमशीलता, रोजगारी सिर्जना र सुशासनका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। संघर्ष, सपना र निरन्तर मेहनतको प्रतीक बनेका हेमराज भट्ट आज धेरै नेपाली युवाका लागि प्रेरणाको स्रोतका रूपमा स्थापित हुँदै गएका छन्।

