बिहि, असार ४, २०८३

मापदण्ड विपरीत बजेट ? तीन योजना जोडेर ५० लाख, एउटै धाममा १० करोड


काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माणका योजनालाई उपेक्षित गर्दै एउटै मन्दिर संरक्षण गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ । तीन ठाउँका हिमाली पर्यटकीय गन्तव्यमा ट्रेकिङ ट्रेल बनाउन ५० लाख मात्रै विनियोजन गरेकाे सरकारले भम्केनी धाम संरक्षण गर्न १० कराेड विनियोजन गरेकाे हाे ।

आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले सोमबार मध्यराति प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा प्रदेशको प्रमुख प्राकृतिक तथा धार्मिक पर्यटकीय गन्तव्य अपि, सुर्मा र साईपालमा ट्रेकिङ्ग ट्रेल निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको उल्लेख छ ।

बजेट वक्तव्यको सोही बुँदामा कञ्चनपुरको भम्केनी धामको संरक्षण विकासका लागि १० करोड विनियोजन गरेको उल्लेख छ ।प्रदेश सरकारले २०८३ बैशाख ३१ गते राजपत्रमा प्रकाशित गरेको सुदूरपश्चिम प्रदेश आयोजना छनोट सम्बन्धी मापदण्ड २०८३ र सर्बदलीय सहमतिलाई उलंघन गरेर प्रदेश सरकारले तीन ठाउँको ट्रेल एउटै शिर्षकमा राखी ५० लाख विनियोजन गरेको हो ।

उक्त मापदण्डको अनुसूचि ४ मा पर्यटन सम्बन्धी पूर्वाधार निर्माणको लागत कम्तिमा ५० लाख रुपैयाँ हुनुपर्ने उल्लेख छ । यसैगरी, बजेट निर्माणको बेला सर्बदलीय बैठकमा जोडिएर आएको कुनै पनि योजना आयोजनामा बजेट विनियोजन नगर्ने भनि भएको सहमती विपरित प्रदेश सरकारले एउटैमा तीन ठाउँको आयोजना जोडेर ५० लाख विनियोजन गरेको हो ।

२५ लाख भन्दा कम लागतको आयोजना स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने मापदण्ड र सर्वदलीय सहमति बनाइएको भएपनि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई (पर्यटन इकाई) ले कार्यान्वयन गर्ने गरी तीन आयोजना जोडेर लागत ५० लाख पुगाइएको हो ।यद्दपि, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी भोजराज पाठकले रातो किताव सार्वजनिक नभएसम्म उक्त बजेट स्पष्ट नहुने बताए ।

उनले रातो किताव आएपछि मात्रै क्रियाकलाप र बजेट स्पष्ट हुने बताए । उनले भम्केनी धामको संरक्षणका लागि प्रदेश स्थापना हुनु भन्दा पहिले नै पुरातत्व विभागले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएको बताए । ‘भम्केनी धाममा म्युजियम र त्यसको माथि नेपाल आमाको मूर्ति बनाउने डिपिआर बनाइएको थियो,’ उनले भने, ‘तर बजेट कुन क्रियाकलापको लागि विनियोजन भएको हो, स्पष्ट हुन रातो किताव कुर्नुपर्छ ।’प्रदेशका प्रमुख पर्यटन गन्तव्यहरु बजेट वक्तव्यमा समावेश गरिएको भएपनि बजेट उल्लेख गरिएको छैन ।

‘जेठी बौरानी, रानीसैन, बडिमालिका, रामारोशन, खप्तड लगायतका क्षेत्रलाई पर्यटन हवको रूपमा विकास, प्रवर्द्धन, प्रचारप्रसार र पहुँच लगायतका कार्यका लागि आवश्यक बजेट विनियोजन गरेको छु,’ मन्त्री धामीले भने, ‘बाकाबिर पर्यटन प्रवर्द्धन, देवाटबी धार्मिक पर्यटन सर्किट र साहसिक खेल तथा पर्यटन प्रवर्द्धन गर्ने प्रयोजनार्थ आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।’प्रदेश सरकारले दार्चुलाको व्यासमा व्यास ऋषिको प्रतिमा स्थापनाका लागि २ करोड विनियोजन गरेको छ ।

पर्यटन व्यवसायमा संलग्न व्यवसायी तथा जनशक्तिहरूको क्षमता अभिवृद्धिका लागि सीप विकास तालिम मन्त्री धामीले बताए । पर्यटकहरूको तथ्यांक संकलन, अद्यावधिक लगायतका पर्यटक सम्बन्धी सूचना व्यवस्थापनका साथै पर्यटकहरूलाई सहजीकरण गर्नका लागि विगतदेखि विभिन्न स्थानहरूमा स्थापना भइरहेका पर्यटन सहायता कक्षहरूको सञ्चालनलाई निरन्तरता दिइएको उनले बताए ।

सम्बन्धित समाचार