कञ्चनपुर।कञ्चनपुरमा हुलाकी सडक अलपत्र पार्ने एक ठेकेदार कम्पनीको बैंक ग्यारेन्टी (धरौटी) जफत गरिएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढीले कञ्चनपुरको दोस्रो खण्डअन्तर्गत बाबा हन्स–सिद्धिसाई संयुक्त उपक्रम (जेभी)को बैंक ग्यारेन्टी जफत गरेको हो।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर गणेशबहादुर बुढाले यसअघि ठेक्का रद्द गरिएको उक्त ठेकेदारको अहिले सात करोड ७१ लाख ९५ हजार रुपैयाँको बैंक ग्यारेन्टी (धरौटी) जफत गरेर सरकारको राजस्व खातामा दाखिला गरेको बताए।
कार्यालयसँग ठेक्का सम्झौता म्यादभित्रै काम नगरेपछि ठेक्का तोकिएको सूचना अधिकारी बुढाको भनाइ छ। अब लगत्तै बाँकी कामको ठेक्का प्रक्रियामा जाने उनले बताए। कैलाली–कञ्चनपुर जोड्ने हुलाकी सडक बेलौरी–बेलडाँडीको दोस्रो खण्डमा ३० महिनामा सक्नुपर्ने काम १२० महिना अर्थात् १० वर्षसम्म समेत काम नसकेपछि ठेक्का तोकिएको कार्यालयले जनाएको छ।
३० महिनामा सक्नुपर्ने काम सातपटक म्याद थप गर्दासमेत निर्माण कार्य नभएपछि कार्यालयले ठेक्का तोडेको हो। तर, पहिलो र दोस्रो खण्डको हुलाकी सडक निर्माण कार्य भने सम्पन्न भएको छ। सुरुवाती चरणदेखि कार्यालय र स्थानीय स्तरबाट पटकपटक समयमै काम गर्न दबाब आएपछि निर्माण कम्पनीले सुने–नसुनेको जस्तो गरेर आलटाल गर्दै आएको थियो।बैंक ग्यारेन्टी जफत गरे पनि बाँकी कामको हर्जना जफतबारे कार्यालयले स्पष्ट पारेको छैन।
गत १४ कात्तिक ०८२ मा ‘ठेक्का किन नतोड्ने ?’ भन्दै योजना कार्यालयले १५ दिने स्पष्टीकरण मागेको थियो। तर, व्यवसायीले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्द गरिएको सूचनामा स्पष्ट गरिएको छ। अद्यावधिक कार्यतालिका, स्रोत परिचालन योजना तथा कार्य सम्पन्न गर्ने विश्वसनीय प्रतिबद्धता पेस नगरेको, अधिकृत प्रतिनिधिसमेत उपस्थित नभएको र काम नियमित गर्ने कोणबाट तदारुकता नदेखिएको कार्यालयको निष्कर्ष छ।
कार्यालयले निर्माण व्यवसायीलाई १५ दिनभित्र उपस्थित भएर नापजाँच तथा वित्तीय फरफारक पूरा गर्न आग्रह गरेको थियो। निर्धारित समयभित्र उपस्थित नभएमा कार्यालयले एकतर्फी नापजाँच गर्ने चेतावनी पनि दिएको र सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष ०७३÷०७४ मा ठेक्का सम्झौता भए पनि चालू आर्थिक वर्ष ०८२/८३ सम्म पनि निर्माण कार्य अधुरै छ। दोस्रो खण्डअन्तर्गत करिब २० किलोमिटरमध्ये पाँच किलोमिटर मात्र कालोपत्रे बाँकी छ।
हालसम्म कुल निर्माण प्रगति करिब ८२ प्रतिशत रहेको कार्यालयले जनाएको छ। सडक अधुरै छाडेपछि दक्षिणी क्षेत्रका सर्वसाधारण हैरान भएका छन्। भारतीय पक्षले अवरोध गरेको बेलौरीको पचुई, कलकत्ता, रिछाह, रतनपुर बजार, झर्नाखोलासहितका स्थानमा काम नगरेपछि सर्वसाधारण हैरान भएका हुन्। बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले दोस्रो खण्डको ठेक्का रद्द भएसँगै समयमै नयाँ खोल्नुपर्नेदेखि दैजी–बेलडाँडी सडकखण्डमा बाह्रै महिना झाँडी सरसफाइ गर्नुपर्नेमा जोड दिएका छन्।

