शुक्र, जेष्ठ २९, २०८३

फुटबलको महाकुम्भ: आज रातिदेखि ४८ टोलीको ऐतिहासिक फिफा विश्वकप २०२६ सुरु हुँदै


कञ्चनपुर। विश्व खेलकुदकै सबैभन्दा प्रतिक्षित र ठूलो उत्सव ‘फिफा विश्वकप २०२६’ आज मध्यरातिदेखि मेक्सिकोबाट औपचारिक रूपमा सुरु हुँदैछ। उत्तर अमेरिकी महादेशका तीन शक्ति राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा हुन लागेको यो २३औँ संस्करणको विश्वकप थुप्रै दृष्टिकोणबाट ऐतिहासिक बन्ने निश्चित छ।

नेपाली समय अनुसार आज राति मेक्सिकोको प्रतिष्ठित ‘एज्टेका स्टेडियम’ मा भव्य उद्घाटन समारोह र पहिलो खेल (मेक्सिको विरुद्ध दक्षिण अफ्रिका) सँगै महिना दिनभन्दा लामो फुटबलको रोमाञ्चक यात्रा सुरु हुनेछ। संसारभरका अर्बौँ फुटबल प्रेमीहरूको नजर अबको केही हप्ता यी तीन देशका खेलमैदानहरूमा केन्द्रित हुने भएको छ।यस पटकको विश्वकप फुटबलको इतिहासमै अहिलेसम्मकै सबैभन्दा विशाल र व्यापक हुनेछ।

विगतका संस्करणहरूमा ३२ टोलीहरू मात्रै भिड्ने गरेकोमा यस वर्षदेखि फिफाले टोलीको संख्या बढाएर ४८ पुर्‍याएको छ। टोली संख्या बढेसँगै खेलहरूको संख्या पनि ऐतिहासिक रूपमा वृद्धि भई १०४ पुगेको छ। यी खेलहरू सञ्चालन गर्न अमेरिका, मेक्सिको र क्यानडाका गरी जम्मा १६ वटा अत्याधुनिक सहरहरू छानिएका छन्।

उत्तर अमेरिकाको विविधता र भव्यतालाई समेट्दै आयोजना हुन लागेको यो प्रतियोगिताको महाभिडन्त आगामी जुलाई १९ मा न्यूयोर्क (न्यूजर्सी स्टेडियम) मा फाइनल खेलसँगै समापन हुनेछ।विश्वकपको यस संस्करणलाई फुटबल इतिहासकै सबैभन्दा आकर्षक र भावनात्मक पनि मानिएको छ। आधुनिक फुटबलका दुई सर्वकालीन महान् खेलाडी (GOAT) लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो सम्भवतः आफ्नो खेल जीवनको अन्तिम विश्वकप खेल्दैछन्।

योसँगै वर्तमान फुटबल जगत्‌का सुपरस्टार किलियन एम्बाप्पे र भर्खरै उदाउँदै गरेका युवा सनसनी लामिन यामाल जस्ता खेलाडीहरूको जादुमयी उपस्थितिले प्रतियोगिताको रौनक र स्तरलाई थप उचाइमा पुर्‍याएको छ। पुराना दिग्गजहरूको बिदाइ र नयाँ पुस्ताको उदयको साक्षी बन्ने यो विश्वकप विश्वभरका प्रशंसकहरूका लागि निकै भावुक र रोमाञ्चक क्षण हुनेछ।

४८ देशका टोलीहरूलाई १२ वटा समूहमा विभाजन गरेर खेलाइने यस नयाँ ढाँचाले नयाँ र उदाउँदा राष्ट्रहरूलाई पनि विश्वमञ्चमा आफ्नो क्षमता देखाउने अभूतपूर्व अवसर दिएको छ। खेल संख्या र टोली थपिँदा प्रतिस्पर्धा अझै कठिन र अनपेक्षित हुने अनुमान खेल पण्डितहरूले गरेका छन्।

आज रातिदेखि सुरु हुने यो महाकुम्भले आगामी जुलाई १९ सम्म विश्वलाई नै फुटबलमय बनाउनेछ, जहाँ हरेक खेलमा नयाँ कीर्तिमान, रोमान्च र रोदनका कथाहरू कोरिनेछन्।

सम्बन्धित समाचार