उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय मातहतका संस्थानहरुमा रिक्त रहेको कार्यकारी निर्देशक तथा महाप्रबन्धक नियुक्तीको लागि एक साताभित्र विज्ञापन खुल्ने भएको छ।
मन्त्रालयले सबैभन्दा बढी प्राथमिकता आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, इन्टरमोडल तथा यातायात विकास समितिलगायतलाई दिएको छ।आयल निगममा करिब एक महिनादेखी कार्यकारी निर्देशकको पद खाली छ। त्यहाँ कार्यरत डा चण्डिकाप्रसाद भट्टले ३० बैशाखमा राजीनामा दिएपछि अहिले निमित्तको भरमा संचालित छ।
भट्टले राजिनामा दिएपछि निमित्त प्रमुख भएका नागेन्द्र साहसमेत अनिवार्य अवकाश पाएर निगमबाट बिदा भइसकेका छन्। सोमबारबाट आयल निगमको निमित्त कार्यकारी निर्देशकको भूमिका दीपक बरालले पाएका छन्।त्यस्तै, खाद्य कम्पनीको तत्कालिन महाप्रन्धक रमेश आचार्यले पनि बैशाख अन्तिम साता राजिनामा दिएपछि डिल्लीराज लम्सालले निमित्त प्रमुखको भूमिका पाइरहेका छन्।
उद्योग मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले एक साताभित्रै रिक्त रहेका पदमा पदपूर्ती हुने गरी सूचना आह्वान गर्ने गृहकार्य भइरहेको जानकारी दिए। ‘मन्त्रालय मातहतका संस्थानमा रिक्त रहेका पदमा एक हप्तामा विज्ञापन खोल्ने तयारी भइरहेको छ’ उनले भने।सरकारले अध्यादेश ल्याएर यसअघिका सबै राजनीतिक नियुक्ती हटाएका कारण नयाँ पदपूर्ती गर्न लागिएको हो।

