महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले जिल्लाका क्रियाशील पत्रकारहरूलाई प्रेस ज्याकेट र प्रेस क्याप वितरण गरेको छ । भीमदत्त नगरपालिकाको सहयोगमा पत्रकारहरूलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
पत्रकार र गैरपत्रकारबीच स्पष्ट पहिचान कायम गर्दै समाचार संकलन तथा रिपोर्टिङका क्रममा हुने सम्भावित असहजता न्यूनीकरण गर्ने उद्देश्यले भीमदत्त नगरपालिकाले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखालाई एक सय थान प्रेस ज्याकेट र एक सय थान प्रेस क्याप उपलब्ध गराएको थियो ।कार्यक्रममा बोल्दै महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश धामीले पत्रकारलाई प्रदान गरिएको प्रेस ज्याकेट र क्यापको सही सदुपयोग गर्न आग्रह गरे ।
उनले विपद्, दुर्घटना, आन्दोलन तथा अन्य संवेदनशील अवस्थाहरूमा समाचार संकलन गर्दा पत्रकारको पहिचान र सुरक्षाका लागि यस्ता सामग्री अत्यन्त उपयोगी हुने बताए ।महासंघका सचिव कुन्दन पाण्डेयले सामग्रीको उचित प्रयोग हुनेमा विश्वास व्यक्त गर्दै प्रेस सामग्रीको दुरुपयोग भएको पाइए आवश्यक कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारे । पत्रकारिताको मर्यादा र पेशागत आचारसंहितालाई ध्यानमा राखेर सामग्री प्रयोग गर्न उनले आग्रह गरे ।
महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू र जिल्लाका क्रियाशील पत्रकारहरुको उपस्थितिमा आयोजित कार्यक्रममा जिल्लाभरका सक्रिय पत्रकारहरूलाई प्रेस ज्याकेट र क्याप हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा सहभागी पत्रकारहरूले भीमदत्त नगरपालिका र नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाप्रति आभार व्यक्त गर्दै प्रेस ज्याकेट र क्यापले पत्रकारको पहिचानलाई थप मजबुत बनाउनुका साथै जोखिमपूर्ण परिस्थितिमा समेत निर्भीक भएर समाचार संकलन गर्न सहजता प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए ।
पत्रकारको सुरक्षा, पहिचान र पेशागत मर्यादालाई सुदृढ बनाउन गरिएको यो पहललाई कञ्चनपुरको पत्रकारिता क्षेत्रका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

