बुध, साउन १३, २०८३

काठमाडौंमा असिनापानी, सिन्धुपाल्चोकको गोब्रेमा एक घन्टामै ५८.८ मिलिमिटर पानी


काठमाडौं ,काठमाडौंमा बिहीबार राति असिनासहित वर्षा भइरहेको छ। दिनभर घाम लागेकामा यसअघि साँझ पानी परेको थियो। तर, राति सवा आठ बजेदेखि निरन्तर पानी परिरहेको छ, त्यो पनि बर्खाको भीषण वर्षाजसरी।विशेष गरी काठमाडौंको उत्तरी क्षेत्रमा ठुलो पानी परिरहेको छ ।

सिन्धुपाल्चोकको गोब्रेमा एक घन्टामै ५८.८ मिलिमिटर पानी परेको छ। ककनीमा ५.६, कीर्तिपुरमा ३ र कपनमा २.४ मिलिमिटर पानी परेको ।जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले प्रिमसुन सक्रिय बन्दा असिनापानी परिरहेको र एक–डेढ घन्टामा थामिने बताए। प्रिमनसुनमा हावाहुरी, मेघगर्जन, चट्याङसहित पानी पर्छ, अहिले भइरहेको त्यही हो,’ उनले भने, ‘यसमा स्थानीय वायुले काम गरेको छ ।

काठमाडौंजस्तै, कैलालीको चुरे क्षेत्र, रुकुम, पोखरालगायत क्षेत्रमा पनि ठुलो पानी परेको छ। पश्चिम क्षेत्रमा विकास भएको यो प्रणाली विस्तारै पूर्व सर्दै जाने आकलन छ। यद्यपि, राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थान तथा मधेश प्रदेशलगायत कोशी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षाको आकलन छ।राति नै लुम्बिनीका तराई र पहाडी भूभाग तथा बाँकी तराई भू–भागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

सम्बन्धित समाचार