बुध, जेष्ठ २०, २०८३

नेपालका एमएमए फाइटर रवीन्द्र ‘रोड टु युएफसी’को सेमिफाइनलमा


कञ्चनपुर।नेपालका चर्चित मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट विश्व चर्चित अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी)को छनोट प्रतियोगिता ‘रोड टु युएफसी सिजन–५’को सेमिफाइनल प्रवेश गरेका छन्।

बिहीबार दिउँसो मकाउमा भएको ब्यान्टमवेट विधाको क्वार्टरफाइनलमा रवीन्द्रले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराएका हुन्। रवीन्द्रले दोस्रो राउन्डमा आफ्ना प्रतिद्वन्द्वीलाई भुइँमा ढालेर लगातार मुक्का प्रहार गर्दै नकआउट जित पक्का गरे।

पहिलो राउन्डको सुरुवाती मिनेटमा केही अप्ठ्यारो परिस्थितिको सामना गरे पनि रवीन्द्रले आफूलाई बलियो रूपमा सम्हाले र प्रतिद्वन्द्वीका हरेक प्रहारको कडा जवाफ दिए।

दोस्रो राउन्डभरी उनले एलिस्टनजोनलाई पूर्ण रूपमा दबाबमा राख्न उत्कृष्ट ‘क्लिन्च’को प्रयोग गरेका थिए।‘बझाङका बाघ’ नामले परिचित रवीन्द्रले सेमिफाइनलमा जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीचको विजेतासँग खेल्नेछन्।

ब्यान्टमवेटमा विजेता बनेमा युएफसिको मुख्य स्टेजमा छनोट हुनेछन्।किम्बर्टलाई हराएपछि रवीन्द्रले अझै धेरै चुनौती रहेको बताए। ‘यो पहिलो चरण हो। अझ बाटोमा धेरै चुनौती छन्।

यो जितले धेरै खुसी छु,’ उनले भने, ‘जय नेपाल, जय हनुमान।’रोड टु युएफसीमा आबद्ध हुनुअघि व्यावसायिक एमएमएमा रवीन्द्रका नाममा ९ जित र १ हारको रेकर्ड थियो।

उनले गत वर्ष मात्र भारतको ग्रेटर नोइडामा आयोजित ‘मेट्रिक्स फाइट नाइट १७’मा भारतीय खेलाडी चुङरेन कवरेनलाई नकआउट गर्दै उपाधि जितेका थिए।

सम्बन्धित समाचार