कञ्चनपुर,कञ्चनपुरको पुनर्वास नगरपालिका– ७ (च) गाउँको एक इँटाभट्टामा ट्याक्टरले च्याप्दा एक बालकसहित दुईजनाको मृत्यु भएको छ। घटनामा अर्का एक बालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीले पुनर्वासका न्यु जनता इँटा उद्योगमा काँचो इँटाको चट्टामा सुतिरहेको अवस्थामा ट्याक्टरबाट पानी छर्किँदा एक्कासि नियन्त्रित भएर दुर्घटना भएको बताए।
से.१त ८८७६ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उत्तरप्रदेशका २७ वर्षीय अजयकुमार र सोही ठाउँका नाै वर्षीय पवन कुमारको मृत्यु भएको हो। ११ वर्षीय घुर्रा कुमारको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
गम्भीर घाइते भएका पवन र अजयको उपचारका लागि धनगढी नवजीवन अस्पताल लगेपछि चेकजाँचकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। इँटाभट्टामै कामदार भएकै कारण काँचो इँटामा सुतेका बालकको मृत्यु भएको घटनाले बालश्रमिकको अवस्था उजागर गरेको छ।
नेपाल इँटा उद्योग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष बलदेव बुडालले कुनै पनि इँटाभट्टामा बालश्रमिक नभएको दाबी गरे। भारतबाट आउने मजदुरले साथमै बालबालिका बोकेर ल्याउने उल्लेख गर्दै उनले भने, ‘हामीले कुनै पनि इँटा उद्योगमा बालबालिका मजदुर राखेका छैनौँ।’

