कर्मचारी कुटेको आरोपमा सिराहा नगरपालिका प्रमुख नवीन यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीमाथि कार्यालय सहयोगी रामशरण यादवलाई कुटपिट गरेको आरोप लागेको हो । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि मेयर यादव सम्पर्कविहीन बनेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख वासुदेव पाठकले कार्यालय सहयोगीमाथि कुटपिटमा संलग्नविरुद्ध ‘अभद्र व्यवहार’मा मुद्दा दर्ता भएको बताए । कार्यालय सहयोगी रोहित मेस्तरलाई नियन्त्रणमा लिइसकेको भन्दै उनले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताए । पाठकले मेयर यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको बताए । ‘घाइते हाम्रो सम्पर्कमा छैनन् ।
थप उपचारका लागि काठमाडौं लगिएको भन्ने जानकारी पाएको छु,’ उनले भने, ‘विराटनगरमा जाँच गरिएको रिपोर्टका आधारमा मुद्दा दर्ता गरी अघि बढेका छौँ ।’मेयर नै कर्मचारीमाथि कुटपिटमा संलग्न रहेको आरोप लगाउँदै नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् ।
हाजिरी रजिस्ट्ररमा दस्तखत गर्ने विषयमा मेयर र उनका सहयोगीले मिलेर आफूमाथि कुटपिट गरेको रामशरणले बताएका छन् । मेयरको कार्यकक्षमै चोट लागेका यादवलाई उपचार गर्न प्रादेशिक अस्पताल सिराहा भर्ना गरिएको थियो । त्यहाँबाट थप उपचार गर्न २४ चैतमा विराटनगरको न्युरो अस्पताल लगिएको थियो ।
न्युरो अस्पतालको रिपोर्टमा यादवको बायाँ करङमा चोट लागेको देखाएको छ । मेयर यादवले भने आफूले कुटपिट नगरेको बताएका छन् । २४ चैत बिहान करिब ८ः३० बजे आफू कार्यालय पुग्दा कर्मचारीहरू अनुपस्थित देखिएपछि फोनमार्फत बोलाउन निर्देशन दिएको भन्दै उनले दरबन्दी र काज (खटाइ) सम्बन्धी विषयमा सोधपुछ गर्दा कार्यालय सहयोगी रामशरण आफूविरुद्ध गालीगलोजमा उत्रिएको दाबी गरे ।
कार्यकक्षबाट बाहिर गएर गालीगलोज गर्न थालेपछि अन्य कर्मचारीले सम्झाउन खोजेको भन्दै मेयर यादवले आफूले हातपात नगरेको र आफैँ भाग्ने क्रममा लडेको बताए । घटनापछि आफूले नै प्रहरीलाई खबर गरी कर्मचारीलाई अस्पताल पठाएर उपचार गराउन लगाएको उनको भनाइ छ ।
कर्मचारी आन्दोलनको नेतृत्व गरेका शाखा अधिकृत बलिराम यादवले कर्मचारीले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने बताए । कार्यालय सहयोगीलाई कुटपिटमा संलग्न रहेको मेयरलाई कानुनी प्रक्रिामा ल्याउन आन्दोलन गरेको भन्दै उनले नगरपालिकाको जनप्रतिनिधिबाट आन्दोलन व्यवस्थापनबारे खासै वास्ता नभएको गुनासो गरे ।
कर्मचारीलाई धाकधम्की देखाउनेजस्ता काम भइरहेको भन्दै उनले कानुनअनुसार अघि बढ्ने र कर्मचारीले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने बताए । आन्दोलित कर्मचारीले जनप्रतिनिधिको आचरणमा सुधार ल्याउनुपर्ने, कुटिएका कर्मचारीको निःशुल्क उपचार र क्षतिपूर्ति दिनुपर्ने, कर्मचारीको शान्ति सुरक्षा हुनुपर्नेलगायत माग राखेका छन् ।
कर्मचारीको आन्दोलनले नगरपालिकाका सम्पूर्ण प्रशासनिक कार्यदेखि स्वास्थ्य सेवासम्म ठप्प भएको छ । नगरपालिकाभित्रका स्वास्थ्य, कृषि, पशु शाखासँगै वडा कार्यालयको सेवा पनि अवरुद्ध भएको छ ।
कर्मचारीको तीन दिनदेखिको आन्दोलनले सेवाग्राही मारमा पर्न थालेका छन् । कर्मचारीको आन्दोलनले सबै सेवा बन्द भएको सिराहा नगरपालिका– २२ का वडाध्यक्ष जीवछनारायण यादवले बताए । आफूले आन्दोलन टुंग्याउन पहल गरिरहेको भन्दै उनले सेवाग्राहीको काम रोक्न नहुने बताए ।

