बुध, बैशाख २३, २०८३

मुख्यमन्त्रीले घुस मागेको आरोप लगाएका वन अधिकृतविरुद्ध मुद्दा


कञ्चनपुर,सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने प्रदेश डिभिजन वन अधिकृत कृष्णदत्त भट्टविरुद्ध प्रहरीले विद्युतीय अपराध ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

मुख्यमन्त्री शाहका स्वकीयसचिव प्रयागराज खनालले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले भट्टलाई नियन्त्रणमा लिएर मुद्दा अगाडि बढाइएको हो ।धनगढीस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट सोमबार दिउँसो भट्ट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले भट्टविरुद्ध विद्युतीय अपराध ऐनअन्तर्गत अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

‘भट्टविरुद्ध विद्युतीय अपराध ऐनअन्तर्गत कारबाहीको माग गर्दै जाहेरी परेको छ । त्यही जाहेरीका आधारमा पक्राउ गरेर अनुसन्धान अगाडि बढाएका छौँ,’ उनले भने ।खनालले २९ फागुनमा जाहेरी दिएपछि प्रहरीले कैलाली जिल्ला अदालतबाट पक्राउपुर्जी लिएको थियो । भट्टले एक सञ्चारमाध्यमलाई हालै दिएको भिडियो अन्तर्वार्तामा आफ्नो सरुवा रोक्न मुख्यमन्त्री शाहले आफूसँग पाँच लाख रुपैयाँ घुस मागेको आरोप लगाएका थिए ।

मुख्यमन्त्रीलाई पाँच लाख घुस दिन नसकेकै कारण आफूलाई डिभिजन वन कार्यालय धनगढीको प्रमुखबाट सरुवा गरिएको उनको दाबी थियो ।मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाएका भट्टसँग उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले समेत स्पष्टीकरण माग गरेको थियो ।

मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले मागेको स्पष्टीकरणको जवाफ दिन मन्त्रालय गएका वेला उनी पक्राउ परेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार मुख्यमन्त्रीको दबाबमा भट्टलाई पक्राउ गरिएको हो ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवस्तरीय निर्णयबाट गत साउनमा भट्टको सरुवा डिभिजन वन कार्यालय पहलमानपुर गरिएको थियो । सरुवाविरुद्ध भट्टले उच्च अदालत दिपायलमा रिट दायर गरेका थिए ।

सम्बन्धित समाचार