कञ्चनपुर । कञ्चनपुरमा बहुला कुकुरले टोक्दा १६ जना घाइते भएका छन् । भीमदत्त नगरपालिका–४ को महेन्द्रनगर बजार क्षेत्रका विभिन्न स्थानमा आइतबार बहुला कुकुरले टोकेर १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले बहुला कुकुरले टोक्दा १६ जना स्थानीय घाइते भएको बताए ।
कुकुरको टोकाइबाट घाइते भएका सबैको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचार भइरहेको शाहीले बताए ।अस्पतालकाअनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ भने आवश्यक उपचार भइरहेको छ । घाइते हुनेहरूमा भीमदत्त नगरपालिका–३ का २१ वर्षीय अविनाश बिष्ट, भीमदत्त–१८ का २० वर्षीय रोशन भट्ट, भीमदत्त–४ का ४५ वर्षीय जहिद मुस्लिम, बेदकोट नगरपालिका–३ की २१ वर्षीया मानमति जोशी, भीमदत्त–४ का ४० वर्षीय दिव्य सागर, भीमदत्त–१८ की १७ वर्षीया नन्दा सिंह, भीमदत्त–१८ का ३० वर्षीय किशोर बिष्ट रहेका छन् ।
यस्तै, भीमदत्त–८ का ३२ वर्षीय निराजन चौधरी, भीमदत्त–१८ की १८ वर्षीया सृजना बिष्ट, भीमदत्त–४ का ६८ वर्षीय दुर्गादत्त पन्त, भीमदत्त–१८ का २२ वर्षीय पिरन्जल भट्ट, बैतडी सुर्नया गाउँपालिका–४ की २८ वर्षीया बेलु विक, शुक्लाफाँटा नगरपालिका–११ की २० वर्षीया शर्मिला ऐरी पनि घाइते छन् ।
कुकुरको टोकाइबाट भीमदत्त–१८ की २८ वर्षीया लक्ष्मी नेपाली, बेदकोट नगरपालिका–१० की २६ वर्षीया खगेश्वरी जाग्री र भीमदत्त–१८ का २५ वर्षीय चन्द्रादत्त भट्ट भएका छन् । डीएसपी शाहीकाअनुसार बहुला कुकुरले अधिकांशलाई खुट्टामा टोकेको छ ।घटनापछि कुकुरलाई नियन्त्रणमा लिएर उपचारका लागि भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्रमा बुझाइएको छ ।

