झलारी नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट तारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका उम्मेदवार माधव पन्त आफ्नो प्रतिबद्धता पुरा गर्दै छन् ।
उनले आफ्नो प्रतिबद्धतामा भनेझैँ जनताको सेवकका रूपमा आफूलाई उभ्याउन खोजेका छन्। कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका दीपक बोहराले विजय भएपछि त्यस क्षेत्रबाट उम्मेदवारी दिएका १९ उम्मेदवारमध्ये तारा चुनाव चिन्ह लिएर उम्मेदवार रहेका माधव पन्त यतिबेला जन भेटघाटमा रहेका छन् ।
मङ्गलबारबाट उनले निर्वाचन क्षेत्र नम्बर २ का सबै वडाहरूमा पराजित भएका विषयमा समीक्षात्मक छलफल तथा मतदाताहरूलाई धन्यवाद कार्यक्रम दिन सुरु गरेका छन्।निवर्तमान प्रदेशसभा सांसद महेश तत्त्व जोशी नेकपाका युवा नेता नवराज ऐर लगायतका नेताहरूले पार्टी तथा उम्मेदवारलाई आएको मत परिणामको बारेमा समीक्षात्मक छलफल तथा मतदाताहरूसँगको भेटघाट सुरु गरेका छन्।
उनीहरूले पार्टी तथा आफ्नो तर्फबाट भएका कमी कमजोरीहरूलाई समीक्षा गर्दै जनपक्षीय काम गर्न लागि परेको बताएका छन्। निर्वाचन क्षेत्र नम्बर २ कञ्चनपुरका ३० वटै वडामा नेपाली कम्युनिष्ट पार्टीले दुई दिनभित्र समीक्षात्मक चुनावी छलफल गरेर पालिका र निर्वाचन क्षेत्रको समीक्षा गर्ने तयारी गरेको छ।
जनताले दिएको मत परिणामलाई स्वीकार गर्दै निर्वाचित जनप्रतिनिधिलाई सघाउने र जनताका पक्षमा आवश्यक सहयोग र सहकार्य गर्ने नेकपाका तत्कालीन उम्मेदवार तथा नेता माधव पन्तले बताएका छन्।
पन्त शुक्लाफाटा नगरका स्थानीय युवा उम्मेदवारका रूपमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट शिक्षित तथा बौद्धिक उम्मेदवारका रुपमा परिचित रहेका थिए। उनीप्रति धेरैजसो मतदाताहरूले सहानुभूति जनाए पनि चुनावी प्रतिस्पर्धामा पराजित भएका पन्त यतिबेला जन भेटघाटमा लागेका छन्।

