महेन्द्रनगर । कञ्चनपुरमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता लिँदै क्लिन स्विपको संकेत गरेको छ। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले प्रतिस्पर्धी दलका स्थापित नेताहरूलाई पछि पार्दै अग्रता कायम राखेका छन्।
निर्वाचन क्षेत्र नं. १ मा ६ हजार २४ मत गणना हुँदा रास्वपाका जनकसिंह धामी १ हजार ८३० मतसहित पहिलो स्थानमा छन्। उनलाई नेकपा (एमाले) का तारा लामा तामाङले १ हजार ५१९ मतका साथ पछ्याइरहेका छन्। यस क्षेत्रमा कुल ६१ हजार ७४ मत खसेको थियो, जसको गणना अझै जारी छ।त्यस्तै, क्षेत्र नं. २ मा रास्वपाका दीपकराज बोहराले फराकिलो अग्रता बनाएका छन्।
बोहराले ४ हजार २६८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रभावशाली नेता नारायण प्रकाश साउँद १ हजार ५२५ मतमा सीमित भएका छन्। यस क्षेत्रमा ६४ हजार ८८१ मत खसेको छ।क्षेत्र नं. ३ मा पनि रास्वपाकै ज्ञानेन्द्रसिंह महता १ हजार २०४ मतसहित अगाडि छन्।
उनलाई नेपाली कांग्रेसका हरिप्रसाद बोहराले ४४८ मतका साथ पछ्याउँदै छन्। ५८ हजार ३६१ मत खसेको यस क्षेत्रमा पनि रास्वपाको सुरुवाती उत्साहजनक नतिजा देखिएको छ। कञ्चनपुरका तीनै क्षेत्रमा ‘घण्टी’ को अग्रताले पुराना दलहरूलाई ठूलो चुनौती थपेको छ।

