बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवनमा ६४.१२ प्रतिशत मतदान भएको छ । तीन निर्वाचन क्षेत्र रहेको चितवनमा कुल चार लाख ४२ हजार ८२ मतदातामध्ये दुई लाख ८३ हजार ४२८ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय चितवनका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए ।
चार लाख ४२ हजार ८२ मतदाता रहेको चितवनमा दुई लाख ८३ हजार ४२८ जनाले मतदान गरेका छन् । जसमा महिलाको संख्या एक लाख ५१ हजार १३५ र पुरुषको एक लाख ३२ हजार २९३ रहेको छ । निर्वाचन अधिकारी कार्कीका अनुसार चितवनमा मतदान गर्नेको संख्या पुरुषभन्दा महिलाको संख्या बढी रहेको छ ।
यस्तै, तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा सबैभन्दा धेरै मतदान चितवनको क्षेत्र नम्बर ३ मा भएको छ ।निर्वाचन कार्यालयका अनुसार चितवन क्षेत्र नम्बर १ मा ९६ हजार १५४ जनाले मतदान गरेका छन् । यस्तै, चितवन क्षेत्र नम्बर २ मा ८७ हजार २२१ जना र चितवन क्षेत्र नम्बर ३ मा एक लाख ५३ जनाले मतदान गरेका छन् ।चितवन
१ मा एक लाख ४९ हजार ६४१, चितवन २ मा एक लाख ३७ हजार १५२ र चितवन–३ मा एक लाख ५५ हजार ३०९ मतदाता रहेका थिए ।निर्वाचन अधिकारी कार्कीका अनुसार चितवन १ को मतगणना खैरहनीस्थित भुवानीशंकर कलेजमा, चितवन २ को मतगणना चितवन उद्योग संघको भरतपुरस्थित प्रदर्शनी केन्द्रमा र चितवन ३ को मतगणना कृषि तथा वन विज्ञान विश्वविद्यालय गर्ने व्यवस्था मिलाइएको छ ।हाल
विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन भइरहेको निर्वाचन कार्यालय चितवनले जनाएको छ । सबै मतपेटिका मतगणनास्थलमा पुगेपछि सुरक्षित रूपमा भण्डारण गरी सिल गरिने र सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

