शुक्र, जेष्ठ २२, २०८३

दाङ, बझाङ र दार्चुलामा चुनाव बहिष्कार, मतदान केन्द्र सुनसान


कञ्चनपुर— बाँके राष्ट्रिय निकुञ्जबाट प्रभावित भई बस्ती स्थानान्तरणको माग गर्दै आन्दोलनरत स्थानीयले दाङमा निर्वाचन बहिष्कार गरेका छन्। आन्दोलनरत पीडितहरूले मतदानमा सहभागी नहुने निर्णय गरेपछि केही मतदान केन्द्र सुनसान बनेका छन्।

दाङ निर्वाचन क्षेत्र–३ अन्तर्गत बबई गाउँपालिका–७ स्थित देउती माध्यमिक विद्यालय मलई मतदान केन्द्र र बबई गाउँपालिका–१ को जनता आधारभूत विद्यालय जिल्ला मतदान केन्द्रमा अहिलेसम्म मतदाता उपस्थित नभएको जनाइएको छ।

बस्ती स्थानान्तरणको माग पूरा नभएको भन्दै स्थानीयले मतदान केन्द्र बहिष्कार गरेका कारण केन्द्रहरू खाली भएका छन्।यसैबीच सुदूरपश्चिमका केही दुर्गम क्षेत्रमा पनि मतदान केन्द्रमा मतदाता नआएको खबर आएको छ।

दार्चुलाको नौगाढ गाउँपालिका–१ नागुस्थित गौरीशंकर माध्यमिक विद्यालय मतदान केन्द्र र अपि हिमाल गाउँपालिका–३ दुधिलास्थित झाक्सु मतदान केन्द्रमा मतदान सुरु भएको लामो समयसम्म पनि मतदाता नपुगेको जनाइएको छ।

यस्तै बझाङको तालकोट गाउँपालिका–४ स्थित लुकड मतदान केन्द्रमा पनि मतदान सुरु भइसकेपछि लामो समयसम्म मतदाता नआउँदा केन्द्र सुनसान देखिएको छ।निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी भने सबै केन्द्रमा उपस्थित रहेको बताइएको छ।

सम्बन्धित समाचार