शुक्र, जेष्ठ २२, २०८३

लोकतन्त्रको रक्षा र विकासको एजेन्डासहित रुख चिन्हमा मतदान गर्न हरि प्रसाद बोहराको अपिल !!


कञ्चनपुर — नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.–३ का उम्मेदवार हरि प्रसाद बोहराले लोकतन्त्र र संविधानको रक्षाको लागि नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेका छन । नेपाली कांग्रेस वडा नं.-१८ वडा समितीले आज भिमदत्तनगरपालिका -१८ मा आयोजना गरेको भेटघाट तथा चुनाबी कार्यक्रममा बोल्दै उनले कञ्चनपुरको समग्र विकास र समृद्धिका लागि रुख चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरेका हुन्।कांग्रेस उम्मेदवार बोहराले वर्तमान राजनीतिक अवस्था अस्थिर रहेको उल्लेख गर्दै संसद विघटन र समय अगावै निर्वाचन घोषणा गरिनुले लोकतन्त्र चुनौतीमा परेको बताएका छन्। “यो निर्वाचन देश बनाउने र देश बिगार्ने बीचको लडाइँ हो,” उनले भने, “लोकतन्त्र जोगाउने जिम्मेवारी अब जनताको काँधमा आएको छ।”विकासका स्पष्ट एजेन्डासहित चुनावी मैदानमा उत्रिएको बताउँदै बोहराले महाकाली चार लेन पुललाई पूर्णता दिने र गाइडबन्ड निर्माण गरी उक्त क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना प्रस्तुत गरेका छन्। दोधारा–चाँदनी सुख्खा बन्दरगाह र महाकाली करिडोर निर्माणलाई तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।स्वास्थ्य क्षेत्रतर्फ महाकाली अस्पतालसहित अन्य स्वास्थ्य संस्थाको स्तरोन्नति, विशेषज्ञ चिकित्सकको व्यवस्था र सेवा प्रवाहमा सुधार गर्ने योजना रहेको उनले बताए। शिक्षा क्षेत्रमा सुधार, प्राविधिक शिक्षालय स्थापना तथा विश्वविद्यालय व्यवस्थापनमा पहल गर्ने उनको भनाइ छ।पर्यटन प्रवर्द्धनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, भम्केनी धाम, सिद्धबैजनाथ मन्दिरलगायत पर्यटकीय क्षेत्रको विकासमा जोड दिने बोहराले उल्लेख गरे। साथै मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउने, डुबान–कटान नियन्त्रण गर्ने, सिँचाइ सुविधा विस्तार गर्ने र महाकाली सिँचाइ तेस्रो चरणलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरे।खेलकुद पूर्वाधार विकास, लागुऔषध नियन्त्रण कार्यक्रम सञ्चालन, युवालाई रोजगारीका अवसर सिर्जना तथा कृषि क्षेत्रमा विशेष योजना र अनुदानमार्फत किसानलाई उचित प्रतिफल सुनिश्चित गर्ने विषय पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताए।समृद्ध कञ्चनपुर र सुरक्षित लोकतन्त्रका लागि यसपटक रुख चिन्हमा मतदान गर्न उनले सम्पूर्ण मतदातासँग अपिल गरेका छन्।

सम्बन्धित समाचार