शुक्र, जेष्ठ २२, २०८३

८९.५ किलोमिटर लामो विद्युत् प्रसारणलाइन सञ्चालनमा


गुल्मी ।बुर्तिबाङ–पौदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा आएको छ । कपिलवस्तुको मोतीपुरदेखि बागलुङको बुर्तिबाङ जोड्ने ८९.५ किलोमिटर लामो प्रसारणलाइन सोमबारदेखि पूर्ण रूपमा सञ्चालन भएको हो ।

मोतीपुरदेखि गुल्मीको रेसुंगा नगरपालिका ७ उनायचौरस्थित तम्घास सबस्टेसनसम्मको लाइन ०८१ असारदेखि नै सञ्चालन भए पनि तम्घासदेखि बागलुङको ढोरपाटन नगरपालिका– २, खल्टुबोटस्थित बुर्तिबाङ सबस्टेसनसम्मको प्रसारणलाइन शनिबारदेखि परीक्षण गरेर सोमबारदेखि नियमित सञ्चालन गरिएको आयोजना प्रमुख मनोजप्रसाद चौधरीले बताए ।

०७६ सालदेखि निर्माण सुरु भएको उक्त डबल सर्किट प्रसारणलाइन निर्माणका लागि डिभिजन वन कार्यालयले समयमै रुख कटान आदेश नदिँदा ढिलाइ भएको थियो । आयोजनाका लागि गुल्मी खण्डमा ३ दशमलव ९,४३८ हेक्टर वन क्षेत्र प्रयोग र ८८.४४ किलोमिटर लम्बाइको १८ मिटर चौडा राइट अफ वेमा पर्ने नौ सय ४२ वटा रुख हटाउने आदेशका लागि मात्रै लामो समय कुर्नुपरेको थियो ।

मन्त्रालयले रुख कटानका लागि निर्णय गरेर विभागले आदेश दिए पनि डिभिजन वन कार्यालयले रुख कटान आदेशको प्रक्रिया अगाडि नबढाएका कारण प्रसारणलाइन निर्माण प्रक्रिया ढिलाइ हुँदा प्राधिकरणले ठेकेदार कम्पनीलाई जरिवानासमेत तिरेको थियो ।

आदेश प्राप्त भएपछि काम सुरु गरेर प्रसारणलाइन सञ्चालन गरिएको थियो ।सो प्रसारण लाइन सञ्चालनमा आएपछि अर्घाखाँची, गुल्मी तथा बागलुङ जिल्लामा विद्युत् आपूर्ति सुदृढ र भरपर्दो हुने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यले बताए ।

३३ केभीमा लाइनमा आउँदा दिनमा १०–१५ पटक लाइन ट्रिप हुने समस्या थियो भने १३२ केभीको प्रसारणलाइन बनेर रिलाएबल सप्लाई भएपछि लाइन स्टेबल भयो, यसको मुख्य उद्देश्य उद्योग व्यवसाय र होटेललाई सहयोग पुग्नका लागि हो, महसुल सस्तो, सहज बनाउनका लागि हो,’ उनले भने, ‘यसले कृषि आधारित, घरेलु वा साना–मझौला उद्योगलाई सहयोग पुग्छ नै, मध्यपश्चिमको पहाडी भेगको अर्थतन्त्रलाई सहयोग पुग्छ भन्ने विश्वास छ ।

प्रसारणलाइनअन्तर्गत प्रत्येक सबस्टेसनमा तीन–तीनवटा फिडर निकालेर त्यसमार्फत राष्ट्रिय प्रसारणबाट ११ केभिएको डोमेस्टक लाइनमा सिधै जोडिएपछि लोकल लाइनमा पनि विद्युत्को समस्या नहुने आयोजना प्रमुख चौधरीले बताए । ‘प्रत्येक सबस्टेसनमा तीन–तीनवटा फिडर निकालेको हुन्छ । त्यसमार्फत राष्टिय प्रसारणबाट ११ केभीको डोमेस्टक लाइनमा सिधै जोडिएपछि लोकललाइनमा पनि विद्युत्को समस्या हुँदैन,’ उनले भने, ‘त्यसैले यी क्षेत्रका उपभोक्ताले विद्युतीय उपकरण चलाउँदा कुनै समस्या हुँदैन ।

’सरकार र प्राधिकरणको चार अर्ब सात करोड ६१ लाख लागतमा सम्पन्न उक्त प्रसारण प्रणालीअन्तर्गत कपिलवस्तुको मोतीपुर, अर्घाखाँचीको फुदवाङ, गुल्मीको उनायचौर, गुल्मीकै पौदीअमराई र बागलुङको बुर्तिबाङमा पाँचवटा सबस्टेसनमार्फत उपभोक्तालाई विद्युत् वितरण गरिएको छ ।

सम्बन्धित समाचार