कञ्चनपुर । निर्वाचन कार्यालय कञ्चनपुर क्षेत्र नम्बर १ को आयोजनामा शुक्रबार उम्मेदवार, सरोकारवाला र पत्रकारहरूबीच निर्वाचन आचारसंहिता सम्बन्धी विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ ।आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन उद्देश्यले आयोजित छलफल कार्यक्रममा निर्वाचन आचारसंहिताका प्रमुख प्रावधान, पालना गर्नुपर्ने दायित्व तथा उल्लङ्घन भएमा हुने कारबाहीका विषयमा विस्तृत रूपमा छलफल गरिएको थियो ।कार्यक्रममा कञ्चनपुर निर्वाचन प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले आचारसंहिता पालनामा उम्मेदवार, सञ्चारकर्मी र सुरक्षा निकायको भूमिकाबारे धारणा राख्दै सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।छलफलका क्रममा निर्वाचन अवधिभर प्रचार-प्रसार, सञ्चार माध्यमको प्रयोग, सामाजिक सञ्जाल, खर्च व्यवस्थापन तथा शान्ति सुरक्षासम्बन्धी विषयमा विशेष ध्यान दिन आग्रह गरिएको थियो ।कार्यक्रमले उम्मेदवार र सञ्चारकर्मीबीच आचारसंहिताको विषयमा साझा बुझाइ विकास गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।

