शुक्र, जेष्ठ २२, २०८३

निर्वाचन आचारसंहिता कार्यान्वयनबारे उम्मेदवार, दल र पत्रकारसँग अन्तरक्रिया ।।


हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ माघ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

आइतबार दिउँसो जिल्ला समन्वय समिति कञ्चनपुरको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी हरिश्चन्द्र जोशीले जिल्लाभरको निर्वाचनसम्बन्धी तथ्यांक र निर्वाचन आचारसंहिताबारे जानकारी गराउनुभयो।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशी तथा प्रमुख कोष नियन्त्रक कृष्ण धामीले आचारसंहितासम्बन्धी विषयमा थप प्रस्तुतीकरण गर्नुभयो ।कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिनुभयो ।

उहाँले मतदानभन्दा ७२ घण्टाअघि नेपाल-भारत सीमामा आवागमन बन्द गरिने जानकारी दिनुहुँदै सीमापार रहेका मतदाताहरूलाई त्यसअघि नै स्वदेश फर्किन अनुरोध गर्नुभयो । मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिंह भण्डारीले निर्वाचनलाई चुस्त-दुरुस्त, शान्तिपूर्ण तथा भयरहित बनाउन सबै सरोकारवालाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी उम्मेदवारहरू र राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सम्बन्धित समाचार