कञ्चनपुर उद्योगले उखु क्रसिङ सुरु गरेसँगै यतिवेला कञ्चनपुरका उखु किसान खेतबारीमा व्यस्त देखिन थालेका छन् । कञ्चनपुरको बेलौरी– १०, शिवनगर र पुनर्वास नगरपालिका– २, दशरथ बस्तीका चिनी उद्योग, बेलडाँडीको केदार गुड उद्योगसहितका अन्य उद्योगले उखु क्रसिङ सुरु गरेसँगै उनीहरू व्यस्त बनेका हुन् ।
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडीसहितका किसानलाई यतिवेला उखु काट्न भ्याई–नभ्याई छ ।सरकारले चालू आर्थिक वर्ष ०८२/८३ देखि उखुको मूल्य वृद्धि गरेको छ । गत आवमा प्रतिक्विन्टल पाँच सय ८५ रुपैयाँ निर्धारण गरेको सरकारले यो वर्षदेखि ३५ रुपैयाँ बढाएर ६ सय २० पुर्याएको छ ।
साथै, प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानसमेत पाउने भएपछि किसान उत्साहित छन् । उखु उत्पादक किसान हकहित तथा संरक्षण समिति कञ्चनपुरका कोषाध्यक्ष चेतनकुमार राईले तुलनात्मक रूपमा उखुको मूल्यवृद्धि भएको बताए । ‘विगतमा भन्दा उखुको मूल्य वृद्धि भएको छ,’ उनले भने, ‘यसमा हामी खुसी छौँ, अब सरकारले अनुदान वितरणका कामकाजमा ढिलासुस्ती पनि गर्न हुन्न ।
’ गत वर्ष अनुदानको रकम भुक्तानीका लागि जिल्लादेखि केन्द्रसम्मै आन्दोलन गर्नुपर्ने बाध्यता रहेको उनले दुखेसो पोखे । नगदे बाली मानिने उखुखेती कञ्चनपुरका किसानका लागि घरदैलोमै रोजगारी बनेको छ । बेलौरी र दशरथ बस्तीमा चिनी उद्योग सञ्चालनमा आएसँगै उखुखेतीप्रति किसानको आकर्षण बढेको हो ।
कुनै वेला नजिकै उद्योग नहुँदा सस्तोमै भारतलाई उखु बेच्नुपर्ने बाध्यता थियो । बेलडाँडी– ४, वैवाहका किसान दिलप्रसाद शर्माले उखुखेतीलाई स्वरोजगारकै रूपमा काम गरेको बताए । ‘मेरो परिवारले २० वर्षदेखि उखुखेती गर्दै आएको थियो,’ उनले भने, ‘उतिवेला गाउँमा गुड उत्पादन गर्ने कोलु मात्रै थिए, अहिले दुई ठुला चिनी उद्योग सञ्चालनमा आएका छन् ।
यसले धेरै सहज बनाएको छ ।’ शर्माले कञ्चनपुरमा आठ बिघा र बर्दियामा समेत ६ बिघा जमिनमा उखुखेती गरेका छन् । उनले आफूले वार्षिक एक करोडको कारोबार गर्दै आएको पनि बताए । त्यस्तै, पुनर्वास नगरपालिका– ९ का पूर्ववडाध्यक्षसमेत रहेका नारायणप्रसाद जैसीले नेपालको आर्थिक समृद्धिको आधार उखु भएको बताए । ‘हामीले स्वदेशमा उखुखेती गरी चिनी निर्यात गरेर पनि बेच्नुपर्छ, तब मात्रै हाम्रै वैदेशिक व्यापार घाटा कम गर्न सकिन्छ ।
’ अढाई दशकदेखि उखुखेती गर्दै आएका पुनर्वासका जैसीले पाँच बिघामा उखुखेती गरेका छन् । ‘विगतमा हामीले भारतमा पनि उखु बेच्दै आएका थियौँ,’ ‘उनले भने, ‘अहिले त स्वदेशमै पनि उखु क्रसिङ गर्ने उद्योग सञ्चालनमा आएका छन्, हामीलाई सहज भएको छ ।’ बेलौरी नगरपालिका– १०, सडकघाटका प्रभावशाली उखु किसान चक्रबहादुर कडायत वार्षिक ६० लाख रुपैयाँसम्मको उखु बेच्दै आएको बताउँछन् । ‘मैले ३२ बिघामा उखुखेती गरेको छु,’ उनले भने, ‘स्वदेशमा चिनी मिल नहुँदा भारतमा बेच्नुपर्ने बाध्यता थियो, अहिले दुई चिनी उद्योग सञ्चालनमा सहज भएको छ ।’

