धर्मराज कठायत महेन्द्रनगर, कञ्चनपुरमा ‘राष्ट्रका लागि दुई घण्टा योगदान’ अभियान औपचारिक रूपमा शुभारम्भ गरिएको छ।
विगत चार वर्षदेखि देशका विभिन्न स्थानमा निरन्तर रूपमा सञ्चालन हुँदै आएको यस अभियानलाई अब महेन्द्रनगरको भेटघाट चौतारीमा सञ्चालन गर्ने गरी भीमदत्त नगरपालिकाबाट आवश्यक अनुमति लिई सुरु गरिएको हो।अभियानका संयोजक अनिल साउदको संयोजनमा सञ्चालन भएको कार्यक्रमको उद्घाटन समाजसेवी मदन चन्दले गर्नुभएको थियो।
उद्घाटन समारोहमा बोल्दै समाजसेवी चन्दले आजका धेरै युवाहरू कुलत र दुर्व्यसनतर्फ आकर्षित भइरहेको अवस्थामा अनिल साउदजस्ता युवाले समाजप्रति देखाएको निःस्वार्थ भावनाले आफू अत्यन्तै प्रभावित भएको बताउनुभयो। उहाँले आफ्नो सीपबाट आम्दानी गर्ने मात्र होइन, समाजलाई निःस्वार्थ रूपमा योगदान दिनुपर्छ भन्ने भावना सबै नेपालीमा विकास हुन सके राष्ट्र शान्त, सुखी र समृद्ध बन्न समय नलाग्ने विश्वास व्यक्त गर्नुभयो।
साथै अभियान निरन्तर सफल रूपमा सञ्चालन होस् भनी शुभकामना व्यक्त गर्नुभयो।कार्यक्रमको पहिलो दिन २३ जना सेवाग्राहीले सेवा लिनुभएको थियो। बिहानको मर्निङ वाकमा सहभागी नागरिकहरूले यस्ता निःशुल्क स्वास्थ्य सेवाहरू पहिलो दिनमै देख्दा सकारात्मक प्रतिक्रिया जनाएका थिए। कार्यक्रममा निःशुल्क रूपमा रक्तचाप जाँच, सुगर जाँच, दृष्टि परीक्षण तथा स्वास्थ्य अवस्थासम्बन्धी परामर्श प्रदान गरिएको थियो।
साथै नेपाल सरकारको स्वास्थ्य बीमा किन आवश्यक छ भन्ने विषयमा समेत जानकारी दिइएको थियो।कार्यक्रम सञ्चालनमा संयोजक अनिल साउदलाई उहाँकी धर्मपत्नी चन्द्रिका बिष्टले सहयोग गर्नुभएको थियो। सेवाग्राहीका रूपमा उपस्थित स्वास्थ्यकर्मी थानेश्वर जोशीले पनि रक्तचाप जाँच गरी कार्यक्रममा सहयोग पुर्याउनुभएको थियो।
सेवाग्राहीहरूको तर्फबाट बोल्दै पूर्व नेपाल सरकारका कर्मचारी नर सिंह बडालले अभियानको प्रशंसा गर्दै अनिलजस्तो सामाजिक चेतनायुक्त युवालाई जन्म दिने आमाबुवाप्रति सम्मान व्यक्त गर्नुभयो।
उहाँले यस अभियानलाई सदैव सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।कार्यक्रमको अन्त्यमा संयोजक अनिल साउदले अभियानको सुरुवात, उद्देश्य र यसको सामाजिक महत्वबारे प्रकाश पार्नुभएको थियो।
– प्रेस संयोजक‘राष्ट्रका लागि दुई घण्टा योगदान’ अभियान

