बुध, बैशाख २३, २०८३

काम नगर्ने ठेकेदारमाथि डण्डा !बेलौरी बेलडाँडी हुलाकी सडकको ठेक्का रद्द


कञ्चनपुर, जेनजी आन्दोलनको जगमा बसेकोे वर्तमान सरकारले ठेक्का लिएर बषौँसम्म पनि काम नगर्ने ठेकेदारमाथि वर्तमान सरकारले डण्डा चलाएको छ । ३० महिनामा सक्नुपर्ने काम १सय २० महिनामा पनि सात पटक म्याद थप गर्दा पनि काम नगरेपछि ठेक्का तोडिएको हो । १० बर्षसम्म पनि काम नगर्ने ठेकेदारमाथि कञ्चनपुरको हुलाकी सडक निर्माणको जिम्मा पाएको एक निर्माण कम्पनीमाथि सरकारले डण्डा बजाएको हो । सातपटक म्याद थप गर्दा पनि १० वर्षमा निर्माण नभएपछि हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको बेलौरी–बेल्डाँडीखण्डको ठेक्का तोडिएको हो । हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय धनगढीले २५ मंसिर ०८२ सूचना प्रकाशित गरेर २० किलोमिटर कालोपत्रेको ठेक्का पाएको बाबाहंश–सिद्धिसाई जेभीसँग सम्झौता रद्द भएको जनाएको हो । उक्त निर्माण कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राख्न सिफारिससमेत गरिएको छ। सिद्धिसाई कांग्रेस डोल्पा सभापति दीपेन्द्रबहादुर शाहीको निर्माण कम्पनी हो । उतिबेला सेटिङ्गमा हत्याएको ठेक्का अहिलेको सरकारले रद्द गरिदिएपछि जनता मारमा मारमा परेका छन । २० किलोमिटर सडकको विस्तारसँगै कालोपत्रेको काम ३० महिनाभित्र सक्ने गरी १२ फागुन ०७३ मा बाबाहंश–सिद्धिसाई जेभीसँग निर्माण सम्झौता भएको थियो। लागत ४१ करोड ४१ लाख ४९ हजार रुपैयाँ थियो। तर, १० वर्षसम्म भौतिक प्रगति ८२ प्रतिशत (१२.४३ किलोमिटर कालोपत्रेसहित) र वित्तीय प्रगति ७७.१३ प्रतिशत रहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर प्रमोद चौधरीले बताए।उनका अनुसार पछिल्लोपटक साढे तीन महिनाका लागि गत १० असारमा सातौँपटक म्याद थप गरिएको थियो। तर, निर्माण कम्पनी काम गर्न नआएको इन्जिनियर चौधरीले बताए। ‘काम गर्न पटकपटक दबाब दियौँ, सूचना र पत्राचार ग¥यौँ, तर ठेक्का पाएको कम्पनी काममा फर्केन,’ चौधरीले भने, ‘पछिल्लोपटक ठेक्का किन नतोड्ने भनेर सूचना निकाल्दा पनि निर्माण कम्पनी सम्पर्कमा नआएपछि ठेक्का तोडिएको हो।’उनका अनुसार २० किलोमिटरमध्ये विभिन्न समयमा गरी १२.४३ किलोमिटर कालोपत्रे भइसकेको छ। बाँकी खण्डमा निर्माण कम्पनीले बेस हालेको छ। त्यसमध्ये करिब एक हजार चार सय मिटर खण्डमा भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्नो क्षेत्र भन्दै ग्राभेल गरेपछि थप काम गर्न अवरोध गरेको थियो। ठेक्का रद्द भएसँगै निर्माण कम्पनीको धरौटी जफत गर्नेलगायत प्रक्रिया अगाडि बढ्ने योजना कार्यालयले जनाएको छ । यस अघि पहिल्यैदेखि निर्माण कम्पनीले ०७५ र ०७७सालदेखि कामगर्ने क्रममा भारतीय एसएसबीले पचुई सडक अवरोध गरेको, कोरोना महामारीदेखि देशका विभिन्न राजनैतिक संकट, अनि सरकारले समयमै भुक्तानी नदिदा काम प्रभावित भएको दुखेसो पोख्दै आएको थियो । कञ्चनपुरमा हुलाकी राजमार्गको ६२ किलोमिटर सडकलाई तीनवटा खण्डमा छुट्याएर ठेक्का लगाइएको थियो। अन्य दुई खण्डमा पनि पटकपटक म्याद थपपछि मात्र काम पूरा भएको थियो। निर्माण कम्पनीले लामो समयसम्म काम अलपत्र छोडे पनि म्याद थप्दै आएको योजना कार्यालय यसअघि काम गराउने वा ठेक्का तोड्ने विकल्पमा जान सकेको थिएन् । यसैविच कञ्चनपुर मात्रै नभई कैलालीमा पनि हुलाकी राजमार्ग निर्माणले पूर्णता पाएको छैन। धनगढीदेखि टीकापुरको सत्तीसम्म निर्माणाधीन राजमार्गअन्तर्गत करिब ४५ किलोमिटरमध्ये भजनी–सत्तीखण्ड र फूलबारी–बसन्ताखण्डको काम अधुरै छ। भजनीदेखि सत्तीसम्मको १३ किलोमिटर खण्डको भौतिक प्रगति ४६ प्रतिशत मात्र रहेको हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय धनगढीका सूचना अधिकारी गणेशबहादुर बुढाले बताए। असार ०७७ मा भएको सम्झौताअनुसार पुस ०७९ मै काम सम्पन्न हुनुपर्ने हो। पछिल्लोपटक थप गरिएको अवधि आगामी चैतमा सकिँदै छ।फूलबारी–कैलारीखण्डको १२ किलोमिटरमध्ये एक किलोमिटर मात्र कालोपत्रे हुन बाँकी रहेको बुढाले बताए। यो खण्डमा पछिल्लोपटक थप गरिएको अवधि मंसिरभित्र सकिँदै छ। हुलाकी राजमार्गअन्तर्गत लम्कीदेखि टीकापुरको सत्तीसम्म लिंकरोड निर्माणले पनि पूर्णता पाएको छैन। टीकापुरदेखि सत्तीसम्मको खण्डले पूर्णता पाउन बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । यसरी सुप प्रदेश कैलाली, कञ्चनपुरमा हुलाकी सडक निर्माण ढिलासुुस्ती भएपछि जनता समेत हैरान भएका छन ।

सम्बन्धित समाचार