कञ्चनपुर वन पैदावारको उत्पादन वृद्धि र उद्यम विकास गरौँ, आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनौँ” भन्ने मूल नाराका साथ नेपाल वन पैदावार उद्योग व्यवसायी संघ कञ्चनपुरको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ।
कार्यक्रम संघका सभाध्यक्ष गजेन्द्र विक्रम थापाको अध्यक्षतामा सम्पन्न भएको हो। उद्घाटन समारोहका प्रमुख अतिथि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइराला रहनुभएको थियो।विशिष्ट अतिथिहरूमा नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य सिद्धराज पाण्डे, नेपाल बार काउन्सिलका निवर्तमान पार्षद् तथा अपिनाम्पा संरक्षित क्षेत्रका प्रमुख संरक्षण अधिकृत अमर सिंह धामी रहनुभएको थियो।
त्यसैगरी कार्यक्रममा डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल वन अधिकृत सुरेशचन्द्र डिसी, वरिष्ठ वन अधिकृत भरत शाह, दिनेश यादव, तथा पारिवारिक निजी वन संघ नेपालका केन्द्रीय कमिटी सचिवालय सदस्य लक्ष्मण बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो।नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा काष्ठ व्यवसायी, वन क्षेत्रसँग सम्बन्धित निकायका उच्च पदस्थ कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा संघ कञ्चनपुरका उपाध्यक्ष कैलाश सुनारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संघका कोषाध्यक्ष मोहन रावलले गर्नुभएको थियो।अधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतमा प्रकाश बहादुर पाण्डेय, तथा निर्वाचन अधिकृतमा लोचन सिंह कार्की र लक्ष्मण बहादुर कार्की नियुक्त रहनुभएको छ।
प्रमुख निर्वाचन अधिकृत पाण्डेयका अनुसार निर्वाचनमा ५६ जना मतदाता रहेका छन्।उद्घाटन सत्रको समापनपछि अधिवेशनको बन्द सत्र सुरु हुने जानकारी दिइएको छ।

