शनि, जेष्ठ २३, २०८३

ओलीलक्षित प्रचण्डको टिप्पणी– हिजो संसद् विघटन गर्नेहरू अहिले पुनर्स्थापनाको उल्टो कुरा गर्दै छन्


कञ्चनपुर ,नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्नका लागि मात्र कम्युनिस्ट पार्टीहरूबिच एकता नगरेको दाबी गरेका छन्। धनगढीमा शुक्रबार पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रका सामु आएका चुनौती सामना गर्न र नागरिकको आत्मसम्मान जोगाउन वामपन्थी, प्रगतिशील शक्तिबिच एकता गरिएको जिकिर गरे।

कतिपयले आफू सुरक्षित हुन र चुनावमा दुई–चार सिट जित्न एकता गरिएको हो भन्ने गरेको उल्लेख गर्दै प्रचण्डले त्यो गलत भएको बताए। गत २४ भदौमा भएको विध्वंसले नेपालको राष्ट्रिय स्वाधीनता भयानक संकटमा पुगेको र केही घण्टा नेपाल राज्यविहीनजस्तो भएको उनले उल्लेख गरे।‘कसको हातमा थियो ६–७ घण्टा नेपाल, कसले चलाएको थियो त्यतिवेला ? कोही नेता सुरक्षित थिएनन्, कसैका अफिस सुरक्षित भएनन्, इतिहासका सबै धरोहरहरू जलाइए। कसले गर्‍याे त्यो काम ? निकै गम्भीर छ यो प्रश्न,’ प्रचण्डले भने, ‘त्यसकारण राष्ट्रका सामु आएको संकट सामना गर्ने प्रतिज्ञासहित हामी एकतामा छौँ।

नेपाली जनताको आत्मसम्मान र आफ्नोबारेमा निर्णय गर्ने अधिकारलाई सुरक्षित गर्न यो एकता अभियान सुरु गरिएको हो।’सबै नेपाली, सबै वामपन्थी प्रगतिशील र देशभक्तहरूलाई एकताबद्ध नगरी राष्ट्रका अगाडि आएको संकटको सामना गर्न नसकिने उनको भनाइ छ। लोकतन्त्रवादी शक्तिलाई पनि एउटै मोर्चामा ल्याउन आवश्यक रहेकाले गैरकम्युनिस्ट देशभक्त र लोकतन्त्रवादीसँग पनि कुरा सकारात्मक भइरहेको उनले बताए। ‘हामीले स्वाधीनताको रक्षासँगै कृषि, उद्योग, शिक्षा स्वास्थ्य, आर्थिक, भौतिक विकासमा कायापलट गर्नु छ,’ प्रचण्डले भने, ‘त्यही गर्न नसकेकाले जेन–जी युवाले हामीलाई खबरदारी गरेका हुन्। हामीले आत्माआलोचना गर्नुपर्छ, हामीले गरेका छौँ।

’संयोजक प्रचण्डले एमालेभित्र रहेका देशभक्त वामपन्थीहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा गोलबद्ध हुन आह्वानसमेत गरे। ‘यत्ति भयो, पुग्यो भन्नेमा हामी छैनौँ। यो राष्ट्रको रक्षाको निम्ति, जनताको आकांक्षा र आवश्यकता परिपूर्तिको निम्ति हामीले अन्य वामपन्थी शक्तिसँग पनि र हाम्रो ध्यान एमालेतिर पनि त्यत्तिकै छ,’ उनले भने, ‘एमालेभित्रका सबै देशभक्त, सबै वामपन्थी क्रान्तिकारीहरू पनि नेपाली कम्युनिस्ट पार्टीमै केन्द्रित हुनुपर्दछ भन्ने हाम्रो जोड छ।

’एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै उनले हिजो आफैँ संसद् विघटन गर्नेहरूले अहिले चुनावलाई स्वीकार गरेर जानुको साटो संसद् पुनर्स्थापनाको उल्टो कुरा गरिरहेको टिप्पणी गरे। उल्टो बाटो हिँडेर नेपाली जनता र राष्ट्रलाई दुःख दिनेहरूलाई जनताले चुनावमा सबक सिकाउनुपर्ने उनले बताए। उनले अहिले निर्वाचनको विकल्प नभएको बताए।

सम्बन्धित समाचार