सुवर्ण प्रशाद जोशी
कञ्चनपुर, १८ माघ कञ्चनपुरको उत्तरी ग्रामिण भेगको उच्च शिक्षाको विकासका लागि महायज्ञ संचालन गरिएको छ ।
भीमदत्त नगरपालिका १० जिमुवामा रहेको दानेश्वर बहुमुखी क्याम्पसको विकासका लागि बिहीबारदेखि महायज्ञ संचालन गरिएको हो ।
क्याम्पस व्यवस्थापन समितिले आर्थिक सहयोग संकलनका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महासंज्ञ संचालन गरेको आयोजकले जनाएको छ ।
दानेश्वर बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण भट्टले क्याम्पसमा स्रोत जुटाउनका लागि महायज्ञ संचालन गरिएको बताए ।
उनका अनुसार विद्यालयमा स्रोत नहुँदा संचालनमा समस्या भएकाले नागरिक स्तरबाटै स्रोत बृद्धिका लागि यज्ञ मार्फत अघि बढिरहेको बताए ।
देशका तीन सरकार भएपनि कुनैपनि सरकारबाट सहयोग नपाएपछि बाध्य भएर यज्ञ संचालन गर्नु परेको उनको दुखेसो छ ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसमा स्रोत बृद्धि भएसंगै ग्रामिण भेगका विपन्न समुदायका विद्यार्थीलाई गाँउघर आँगनमै उच्च शिक्षा दिलाउने उदेश्य रहेको उनले बताए ।
उक्त क्याम्पसको सस्थागत विकास भए भीनपा ८, ९ र १० तीन वडाका विद्यार्थी प्रत्यक्ष लाभान्वित हुनेछन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जगत गुरुले महायज्ञ मार्फत धार्मिक संस्कृति संकारका साथै शिक्षाको विकासमा टेवा पुग्ने बताए ।
जगत गुरुले समाजिक सद्भाव एकता लागि समेत धार्मिक महासंघ आवश्यक रहेको औल्याएका छन । उद्घाटनकै दिन गाँउमा कलस यात्रा गरिएको छ ।
सात दिनसम्म संचालन हुने महायज्ञमा आचार्यद्वय भाष्कर पन्त, राधव प्रशाद भट्ट, पण्डित गणेश जी सहितले प्रबचन दिने कार्यक्रम रहेको छ ।
राष्ट्रिय उद्घोषक पुष्पराज भट्ट सहितले संचालन गर्ने कार्यक्रममा हरेक दिन आरती, साँस्कृतिक झाँकी हुनेछन ।

