शुक्र, बैशाख २५, २०८३

भगवती सामुदायिक वनको वार्षिक साधारण सभा सम्पन्न


कञ्चनपुर । भगवती सामुदायिकको २२औँ वार्षिको उत्सव तथा साधारण सभा भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। बुधबार विभिन्न सांस्कृतिक कार्यक्रमहरू सहित आफ्नो २२ औँ वार्षिक साधारण सभाको आयोजना गरेको हो।

शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ८ पारीफाँटामा रहेको भगवती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रफल २ सय ८२ हेक्टरमा फैलिएको छ। वन उपभोक्ता समूहका अध्यक्ष केशव धामीको अध्यक्षतामा भएको बाइसौँ वार्षिक उत्सव कार्यक्रममा सुदूरपश्चिम वन निर्देशनालयका प्रमुख हेमराज बिष्ट प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का जननिर्वाचित अध्यक्ष बहादुर सिंह महरा रहनुभएको थियो।

कार्यक्रममा सबडिभिजन वन कार्यालय कलुवापुरका प्रमुख भोजराज शर्मा भगवती सामुदायिक वन उपभोक्ता समूहका पूर्व तथा संस्थापक पदाधिकारीहरू तथा उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा सुदूरपश्चिम वन निर्देशनालयका प्रमुख हेमराज बिष्टले वन संरक्षण तथा सामुदायिक क्षेत्रमा गरेको क्रियाकलापहरू निकै राम्रा भएको उल्लेख गर्नुभयो ।

प्रमुख अतिथि बिष्टले भगवती सामुदायिक वनको साधारण सभाको शुभकामना दिँदै वन संरक्षण र सदुपयोगका क्षेत्रमा राम्रो काम गरेको बताउनुभयो । उहाँले सरकारले सामुदायिक वनहरूमा लगाएको करका विषयमा सबैलाई सरकारले जारी गरेको कानुनलाई पालना गर्नुपर्ने र कुनै संशोधन वा फेरबदल गर्नुभए प्रक्रियागत रुपमा आफ्नो कुराहरु राख्नुपर्ने बताउनुभयो ।

उहाँले आफूले उपभोक्ता तथा वन पदाधिकारीहरूले कर तथा अन्य कानुनी समस्याहरू का विषयमा गराएको जानकारी कानुन निर्माण गर्ने सांसदहरू तथा सम्बन्धित निकायमा पुर्‍याउने बताउनुभयो । प्रमुख अतिथि हेमराज बिष्टले भगवती सामुदायिक वनलाई उत्तरी क्षेत्रमा थप १ सय हेक्टर वन क्षेत्र थप गर्न वर्तमान अध्यक्ष केशव धामीले गरेको आग्रहलाई आफूले सकारात्मक रुपमा लिएको र चाँडै काम अगाडि बढाउने बताउनुभयो ।

उहाँले चुरे क्षेत्रमा जोडिएका सामुदायिक वनहरूसँग डडेलधुरा जिल्लाका वनहरूको सीमा विवाद तत्कालीन अवस्थामा बुझाइका कारण समस्या देखिएकाले उपभोक्ता तथा वन पदाधिकारीहरूले चुरे पहाडको चुचुराबाट पानी ढलोलाई सिमाना मानी दक्षिणतिरको सबै वन जङ्गल कञ्चनपुर क्षेत्रका उपभोक्ताहरूले संरक्षण तथा उपभोग गर्न पाउनुपर्ने बताउनुभयो।कार्यक्रममा विशिष्ट अतिथि रहनुभएका वडा अध्यक्ष बहादुर महराले उपभोक्ताहरुले नै वन संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले सबै उपभोक्ता राम्रा भए आफू पनि उपभोक्ताको अध्यक्ष राम्रो हुने बताउनुभयो ।

उहाँले वन क्षेत्रमा चोरी तस्करी गर्ने र संरक्षणमा बाधा पुर्याउने हरूलाई कानुनी कटघरामा उभ्याई कारबाही गरिने बताउनुभयो। अध्यक्ष महराले सामुदायिक वनहरूले संरक्षणका क्षेत्रमा उदाहरणीय काम गर्दै आएको र चोर तस्करहरू लाई तह लगाउन सफल भएको बताउनुभयो । उहाँले सरकारले उपभोक्ता तथा वन हरूको जायज मागहरुलाई तत्काल सम्बोधन गर्न पनि माग गर्नुभयो। उहाँले चोरी तस्करी कार्यमा संलग्नहरूलाई कडा चेतावनी दिँदै संरक्षण विरोधी गतिविधिमा संलग्नहरुलाई कुनै हालतमा नछोडिने चेतावनी दिनुभयो ।

कार्यक्रममा कृष्ण सामुदायिक वनका अध्यक्ष अमर बहादुर ऐरले शुभकामना दिँदै चुनौतीपूर्ण कार्य भएकाले सबै उपभोक्ताले आफ्नो पनि सम्झेर सहकार्य र सहयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा संस्थापक तथा पूर्व पदाधिकारीहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो। वन वातावरण संरक्षण तथा भगवती सामुदायिक वनको कार्यमा सहयोग र सहकार्य गर्ने विभिन्न ३० जनाभन्दा बढी व्यक्तित्वहरूलाई सम्मानित गरिएको छ। प्रमुख अतिथि क्षेत्रीय वन निर्देशक हेमराज श्रेष्ठले संरक्षणकर्मीहरूलाई प्रमाणपत्र सहित सम्मानित गर्नुभएको थियो।

सम्मानित हुनेहरूमा रुद्र सिंह ठगुन्ना, गणेशबहादुर ठगुन्ना, कृष्ण सिंह ठगुन्ना, रामसिंह महरा, चक्र ठकुन्ना, गणेश बहादुर सिंह, जयभान बोहरा, लगायतका व्यक्तिहरुलाई सम्मानित गरिएको छ ।२०५७ सालमा स्थापना भएको सामुदायिक वनले गत आर्थिक वर्षमा विभिन्न सामाजिक क्षेत्रमा काम गरेको छ। अध्यक्ष केशव धामीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा आफ्नो कार्यक्षेत्रभित्र विभिन्न विद्यालयहरूमा आर्थिक सहयोग, बाटोघाटो मर्मत तथा सुधार, उपभोक्ताहरूलाई काठदाउरा बिक्री वितरण, विपन्न तथा असहायहरूलाई आर्थिक सहयोग तथा जीविकोपार्जनका लागि सीपमूलक कार्यक्रमहरूको आयोजना महिला सशक्तिकरणका कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नुभएको छ।

वनले वन वातावरण संरक्षणका लागि गर्ने विभिन्न क्रियाकलापहरूसँगै समुदायमा सीपमूलक तथा जीविकोपार्जनका कार्यक्रमहरु गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। आगामी वर्षहरूमा पनि वन वातावरण संरक्षण तथा सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्ने योजना पेश गरेको सामुदायिक वन उपभोक्ता समूहले गत आर्थिक वर्षमा झन्डै ६५ लाख बराबरको आयव्यय प्रस्तुत गरिएको सामुदायिक वनको आगामी आर्थिक वर्षमा ७५ लाख बढीको अनुमानित आयव्य प्रस्तुत गरिएको छ। कार्यक्रममा अतिथिहरूलाई संस्थाकी सचिव धनमाया धामीले गर्नुभएको थियो।

सम्बन्धित समाचार

Leave a Reply