बिहि, जेष्ठ २१, २०८३

हनी ट्रयापिङ प्रकरण ः फरार इन्स्पेक्टर बिनु शाही सहित ६ जनाविरुद्ध संगठित अपराधमा मुद्दा दायर


कञ्चनपुर, मंसिर ११ प्रहरी अधिकारीकै मिलेमतोमा भएको ‘हनी ट्रयापिङ’ घटनामा संलग्न ६ जनाविरुद्ध अदालतमा संगठित अपराधमा मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनका आधारमा दुई प्रहरी र गिरोहका चारजना सदस्यविरुद्ध जिल्ला अदालत ललितपुरमा आइतबार मुद्दा दायर भएको हो ।

गिरोहलाई सहयोग गर्ने प्रहरी निरीक्षक बिनुकुमारी शाही र सहायक हवल्दार महेन्द्र हमाललाई समेत जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले मुद्दा दायर गरेको हो । उनीहरूमध्ये शाही फरार छिन् भने हमाल प्रहरी थुनामै छन् । शाही र हमाल निलम्बनमा छन । त्यस्तै, गिरोहका नाइके ताज इस्लाम भनिने तजस्मुल इस्लाम र उनका सहयोगीहरू दर्शन पोखरेल, सुष्मा विक र भीमादवी थापालाई पनि प्रतिवादी बनाइएको छ । पोखरेल भने फरार छन ।

जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरका प्रवक्ता भरतकुमार मैनालीले उनीहरूविरुद्ध संगठित अपराध निवारण ऐन, ०७० को दफा ३ को उपदफा १ बमोजिम सजाय माग गरी मुद्दा दायर गरिएको बताए । उनीहरूविरुद्ध आपराधिक लाभको अभियोगसमेत रहेकाले साढे १० वर्षसम्म कैद सजाय माग गरिएको छ । घटनामा जोडिएका एसपी कमल थापाको हकमा भने थप अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले निर्देशन दिएको छ । उनीसहित गिरोहसँग निकट देखिएका भगवती थापा, अनिषा कार्की र खुसी रसाइलीको हकमा थप खुल्न आएका बखत मुद्दा दायर हुने अभियोगपत्रमा उल्लेख छ । गत ७ असोजमा इटहरीका एक व्यवसायीलाई ललितपुरको भैँसेपाटी प्रभागमा थुनामा राखेर ३० लाख लेनदेन गरी छाडिएको थियो ।

केही महिनाअघि सँगै भेडेटार घुम्न गएकी युवतीलाई कुटपिटको उजुरी हाल्न लगाएर ती व्यापारीलाई पक्राउ गरिएको थियो । पक्राउपछि प्रहरीकै मिलेमतोमा पैसा तिर्न लगाइएको पीडितले बताएका छन् । जसमा २० लाख भीमादेवी थापाको खातामा जम्मा गर्न लगाइएको थियो ।

यसरी पैसा जम्मा गर्न भैँसेपाटी प्रभागकी प्रमुख रहेकी इन्स्पेक्टर शाहीले हबल्दार हमाललाई पक्राउ परेका व्यापारीसँगै बैंकमा पठाएकी थिइन् । व्यापारीले थप १० लाख रुपैयाँ चेकमार्फत दिएका थिए । यसरी लेनेदन भए पनि मिलापत्र गरी ती व्यापारी छुटेका थिए । मिलापत्र गराएबापत इन्स्पेक्टर शाहीले थप डेढ लाख लिएकी थिईन ।

जिल्ला प्रहरी परिसर, ललितपुरले तत्कालै त्यसबारे सूचना पाई पक्राउ परेका र पीडित भनिएका सबैलाई परिसर पठाउन इन्स्पेक्टरलाई निर्देशन दिएको थियो । परिसरले छानबिन गर्दा प्रहरीकै मिलेमतोमा यसरी हनी ट्रयापिङको घटना भएको खुलेपछि मुद्दा प्रक्रिया अघि बढेको हो । सुरुमा ललितपुर परिसरले नै अनुसन्धान गरेकोमा अनुसन्धानमा आबद्ध अधिकारीमाथि इन्स्पेक्टर शाहीले व्यक्तिगत आरोप लगाईन । त्यसपछि फाइल सिआइबीमा पुगेको थियो ।

तर, दुई महिनासम्म पनि इन्स्पेक्टर शाहीलाई प्रहरीले पक्राउ गर्न सकेन । उनले मुख्य आरोपी इस्लामको मोबाइल नै गायब बनाएकी थिईन । जसकारण महत्वपूर्ण प्रमाण गायब भएका छन । यसरी नियोजित रूपमा प्रमाण नष्ट गर्दासमेत प्रहरी नेतृत्वले इन्स्पेक्टर शाहीलाई पक्राउ गर्न अनुमति नदिएको प्रहरी स्रोत बताउँछ । एसपी थापाले नै इस्लामको समूह र इन्स्पेक्टरबिच चिनजान गराएर त्यसरी पैसा असुल्न लगाएको प्रारम्भिक छानबिनमा खुलेको थियो ।

तर, उनको हकमा तत्काल मुद्दा नचल्ने निर्णय भएको छ । गत जेठमा दरबारमार्ग वृत्तमा पनि यसैगरी एक व्यापारीलाई फसाइएको घटनामा पनि एसपी थापाको भूमिकामाथि सिआइबीले अनुसन्धान गरिरहेको छ ।

ईन्सपेक्टर शाही कञ्चनपुरमा हुँदा पनि उनले एक प्रहरी जवानलाई यातना दिएको विषयमा पत्रकारद्वय पुष्कर भट्ट, ऐश्वर्या कुवरले विषय उठान गरेपछि प्रतिशोध साँध्दै पक्राउ गरेर विवादमा तानिएकी थिईन ।

सम्बन्धित समाचार

Leave a Reply