कञ्चनपुर, ११ कार्तिक कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजारको मदन चोकमा २२ सटर व्यवसायिक भवन निर्माणको तयारी अघि बढाईरहेका बेला त्यसको बिरोध भईरहेको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगर मदन चोकमा व्यवसायिक भवन सटर निर्माणका लागि डिपिआर बनाउन पालिकाले सुचना आब्हानदेखि नै बिरोध भईरहेको थियो । भीमदत्त नगरका जनप्रतिनिधीका आफन्तलाई व्यापार गर्न दिनका लागि पालिकाले भवन आचार संहिता विपरित भवन निर्माण गर्न लागेको भन्दै स्थानीय, प्रदेश र संघीय सत्ताधारी नेपाली काँग्रेस र एमाले निकट युवा विद्यार्थी समेत बिरोधमा उत्रिएका छन । पछिल्ला दिनहरुमा एमाले निकट युवा विद्यार्थी आन्दोलनमा देखिएका छैनन, तर काँग्रेस निकट नेवि संघ सहितका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा बहुमत, राप्रपा, रास्वपा सहितका दल निकट युवा विद्यार्थी आन्दोलनमा होमिएका छन । पालिका र प्रशासनमा ज्ञापन पत्र बुझाउनेदेखि २२सटर निर्माण स्थलमा बृक्षारोपण र आइतबारदेखि भीमदत्त नगरपालिकामा धर्ना गरेका छन । काँग्रेस निकट नरेश पण्डित निकट नेवि संघ आन्दोलनमा होमिएको छ । नेवि संघ कञ्चनपुरका अध्यक्ष नरेश पण्डितले आफुहरु गलतका बिरुद्धमा पाटी सरकारमा भएपनि नभएपनि खबरदारी गर्ने बताए । नेकपा बहुमत कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले स्थानीय सरकारको गैर कानुनी कामकाज बिरुद्धमा निरन्तर आन्दोलन गर्ने बताए । ‘त्यो ठाँउमा यस अघि निर्माण भएका सटर सडकमै थिए, सडक विस्तार गर्दा हटाईएका हुन, ‘उनले भने, ‘अब फेरी सडक मिचेर किन सटर बनाउनुप¥यो ।’ साँकेतिक धर्ना दिएको बताउँदै उनले भावि दिनमा थप आन्दोलन गर्ने बताए । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता चन्द्रकान्त भट्ट(सिके)ले स्थानीय सरकार सहित केही माफिया दलाल बिरुद्धमा युवा विद्यार्थीबाट छेडिएको आन्दोलन नरोकिने बताए । ‘यहाँ केही व्यक्तिले पालिकामा सेटिङ्ग गरेर २२सटर बनाउन खोजिरहेका छन, यस अघि बनेका मञ्च क्षेत्रमा सटरमा पनि दलाल देखियो, अब यो नहटाउँदासम्म आन्दोलन रोकिदैन ।’ उनले गरिखाने बर्गबाट तेब्बर चौबल भाडा अशुलेर पालिकामा थोरै भाडा बुझाउने घटनाको समेत छानबिन गर्नुपर्ने बताए । नेकपा एकीकृत समाजवादी कञ्चनपुरका युवा रमेश पन्तले महेन्द्रनगर बजारको सौन्र्दयता बिगार्ने बिरुद्धमा समाजवादी सहितका युवा विद्यार्थी संघर्षमा रहेको बताए । युवा विद्यार्थी सहित केही स्थानीयले २२सटर निर्माणमा ठुलो आर्थिक चलखेल भईरहेको टिकाटिप्पणी गरिरहेका छन । भीमदत्त नगरपालिका प्रवक्ता पदमराज अवस्थीले यस अघि उक्त स्थानमा भएका सटर सडक विस्तारका लागि हटाएको र अहिले त्यस विषयमा पालिकाले कानुनीदेखिका सबै विषय अध्ययन गरिरहेको जनाएका छन । तर, २२सटरवाला व्यवसायीहरुले भने, यस अघि पालिकाले पछि व्यवस्थापन गर्ने सर्तमा स्वत हटाएको बताउँदै पालिकाले जसरी भएपनि व्यवस्थापनमा जोडदिएका छन । आन्दोलनमा उत्रिएका युवा विद्यार्थीले भने, उक्त स्थानमा बाँचेको जमिनमा सटर बनाएर बजार कुरुप बनाउन नपाईने अडान राख्दै आएका छन ।

